रातो वस्तु चढाउन नहुने छङ्गम देवी

भगवानले लुकाएको स्वर्गको एक पवित्र भूमि

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
280 Shares
रसुवा

रसुवा जिल्ला को गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ बोकेझुण्डामा रहेको धार्मिक पौराणिक एवम् ऐतिहासिक महत्त्व बोकेको छङगम देवी थान अरू देवीदेवता भन्दा फरक छ ।

बोकेझुण्डा निवासी लवाङ ग्याल्वो घलेका अनुसार परापुर्वकालमा आफै उत्पत्ति भएको ढुङ्गाको अ‍ोडार जस्तो कोप्चेरोमा रहेको छङगम देवी अरू देवीदेवता भन्दा बेग्लै रहेको बताउँछन् । यहाँ रातो अबिर चढाउन, पसलमा बेच्ने धूप रातो कपडा चढाउन मिल्दैन । केटी मान्छे एक्लै जान मिल्दैन । त्यस ठाउँ वरपरको रूख समेत काट्न नमिल्ने उनी बताउँछन् ।

स्थानीयका अनुसार धार्मिक मान्यता अनुसार देव थान वरिपरि लापरबाही‚ हेलचक्र्याइँ गरेमा मानिस बिरामी हुने‚ त्यस भेगमा बादल लाग्ने‚ अँध्यारो हुने गर्दछन् । देवीलाई सिक्का पैसा र गाईको दूध, चामल, रातो बाहेकको धजा चढाउनु पर्छ। पहिले त यस ठाउँमा गुफा बस्ने समेत गर्दथे । जङ्गलको बिचमा भएकाले देवीको थानले गर्दा बाघ कराउने र गुफा भित्र आउने कारणले गुफा बस्न छाडेको स्थानीयहरूको भनाइ छ ।

छङ्गम भनेको लामा र झाँक्रीले तपस्या गरेर बस्ने ठाउँ हो । त्यस ठाउँमा नै देवीको नाम छङगम भनिएको भन्ने धर्म ग्रन्थमा उल्लेख छ । डाँडाको बिचमा भएकाले छङगम डाँडा भनिएको पुजारी लवाङ ग्याल्वो घलेले बताए । उनले मात्रै देवीको पूजा गर्न मिल्छ । उनी बाहेक अरूले पूजा गर्न मिल्दैन ।

स्थानीय तामाङ जातिले परम्परागत रूपमा प्रकृति, वनजंगल, हिमाल, डाँडो, खोला, झर्ना, कुण्ड, वन्यजन्तु तथा सिमसार क्षेत्र आदिलाई ने (डाँडा) को रूपमा पुज्ने गर्दछन् । रसुवामा तामाङ जातिको गाउँ पिच्छे भेषभूषा, रहनसहन, कला संस्कृति आदिमा अलग पहिचान भएकाले यी सबैको संरक्षण गर्न सके पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्न सक्छ।

यस लाङटाङ राष्ट्रिय निकुञ्जभित्र हेर्न लायकका मुख्य आर्कषणहरू पनि रहेका छन् । ती हुन्– गोसाईंकुण्ड, रसुवागढी, तिब्बत सीमा क्षेत्र भ्रमण, लाङटाङ, लिरुङ हिमाल ७ हजार २ सय ४५ मिटरको उचाइमा रहेका छन् भने निकुञ्जमा विविधतामा अनेकता रहेको छ।

यस ठाउँमा गुरु रिम्पोर्छेको पैतालाका डोब, गुरु रिम्पोर्छेले राक्षसनी टिमलाई मारेको ठाउँ, याल्मो यति बस्ने ओडार वेनक्याप बोम्बो थान मुण्डु गुम्बा ज्योमोल्हाङ क्षोलिङ गुम्बालगायतका थुप्रै धार्मिक क्षेत्रको अवलोकन गर्न पाइन्छ। प्राकृतिक सम्पदाको संरक्षण र प्रचारप्रसार एवं सेवा सुविधाको व्यवस्था गरेर प्रकृति प्रेमी पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीय आमा समूहकी अध्यक्ष पिंकी लामाले बताइन् ।

धार्मिक तथा सांस्कृतिक परम्परा र रीतिरिवाजमा प्राकृतिक स्रोतसाधनको महत्त्वपूर्ण स्थान छ। यसको विनाशले धार्मिक तथा सांस्कृतिक परम्परा तथा रीतिरिवाजमा नकारात्मक असर पुर्‍याएको उनी बताउँछन् । लाङटाङ क्षेत्र धार्मिक तथा पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले यसको संरक्षणमा लाग्नुपर्ने उनको भनाइ छ ।

पर्यटन विकास र आधुनिकीकरणको प्रभावले परापूर्व कालदेखि नै जगेर्ना गर्दे आएको प्राकृतिक सम्पदा र खास मूल्य, मान्यता र विश्वास रही धार्मिक हिसाबले रसुवाको माथिल्लो भेगलाई भगवान्ले लुकाएको स्वर्गको एक पवित्र भूमि मानिएको पनि लामा बताउँछन्।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका