खाली पिर्का कुरिरहेकी आमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
840 Shares
काठमाडौं
पाटनढोका, चाकुपाटस्थित एम क्युव ग्यालरीमा जारी संयुक्त कला प्रदर्शनीमा राखिएको कलाकार रसिक राईको चित्रकला

छोराछोरी सपना बोकेर देशपरदेशतिर उडे । उनीहरु जता बसे, त्यतै आफ्नो संसार बनाए । जन्मेको गाउँघर र देशै छोड्नुमा उनीहरुका आ–आफ्नै विवशताहरु छन् । कसैको रहर र कसैको कहरमा घर, गाउँ र देश नै छोड्नेहरुको संख्या क्रमिक रुपमा थपिँदै छन् । रित्तिँदै गएको गाउँघरहरुमा उमेरले नेटो कटेका बाआमाहरु छोडेर हिँडेका तिनै सन्तानहरुको बाटो कुरी बसेका छन् । यही भावलाई कलाकार रसिक राईले कलामार्फत अभिव्यक्त गरेका छन् ।

पाटनढोका, चाकुपाटस्थित एम क्युव ग्यालरीमा जारी संयुक्त कला प्रदर्शनीमा रसिकको ‘पिर्का’ सिरिजको कलाकृतिमा यही भाव समेटिएको छ । झापाका युवा कलाकार रसिक अध्ययनकै सिलसिलामा काठमाडौं भित्रिएको एक दशक बित्यो । बाल्यकालमा हजुरआमासँग बिताएका पलहरु भने उनको स्मरणमा ताजै छन् । रित्तो भएका गाउँघर र एक्लो बनेका आफ्ना हजुरआमाहरु जस्ता मान्छेका कथाले छोएपछि त्यसैलाई कलाको रुप दिएको उनले सुनाए । उनी केही नोस्टाल्जिक भए ‘सानोमा हजुरआमासँगै बसेर गाउँखाने कथाहरु सुन्ने गर्थेँ । अहिले हजुरआमा घरमा र म यता काठमाडौंमा छु । खाना खाने बेला बस्ने पिर्काहरु पनि खाली छन् ।’ आफ्नो कलाले आफ्नो मात्र नभएर सिंगो गाउँघरको कथालाई बोलेको रसिकको मत छ । ‘गाउँघरको पुरानो घरमा हजुरआमाहरु मात्र छन् । घरका केटाकेटीहरु राम्रो शिक्षा र कामका लागि कोही सहर, कोही विदेशतिर छन् । यो त अहिले हाम्रो समाजमा भइरहेकै कुरा हो’, उनले अझै प्रस्ट्याए । यसैलाई कलाको फर्ममा ल्याएर यही समयलाई देखाएको उनले बताए ।


ग्यालरीमा प्रदर्शनरत दुई दर्जनभन्दा बढी कलाकृतिहरुमा युवा पुस्ताका कलाकारहरुले समकालीन समयलाई उतार्दै त्यसैमा आफ्ना भावनाहरु व्यक्त गरेका छन् । उनीहरुको कला सिर्जनामा यही समाज, सामाजिक, सांस्कृतिक, मानसिक भावहरुसँगै यो समयको प्रवृत्तिप्रति चिन्ता र असन्तुष्टिहरु प्रतिविम्बित भएका छन् । कलाकार निलेश शाक्यले ‘पञ्चबुद्ध’ शीर्षकमा ध्यानमग्न स्वरुपहरुलाई ढुंगामा प्रतिस्थापन कलामा प्रस्तुत गरेका छन् । भगवान्को नाममा ढुंगा पुँजेर मानवता र नैतिकतालाई भुलिरहेका आम मानवीय प्रवृत्तिलाई उनले यसमा चित्रण गरेका छन् । कलामार्फत नै उनको आग्रह छ,‘यदि हामी बुद्धजस्ता भगवान्को आदर्श र ज्ञानलाई मान्छौं भने ढुंगालाई पुँजेर होइन बुद्धका सन्देशहरुलाई अनुसरण गरौं ।’ यसैमा बुद्धले छोडेको ज्ञानले हामी उज्यालो संसारतिर जान सक्छौं भने भन्ने उनको सन्देश छ । त्यस्तै अर्का कलाकार मोमिन प्रधानले मान्छेका मनभित्र गुम्सिएर रहेका भावनात्मक संवेगहरुलाई पातहरुमा छरेर प्रतिस्थापन कलामा देखाएका छन् । आफ्ना भावनाहरुलाई पातमा छरेर उनले त्यसमा अरुलाई पनि सामेल गराउने जमर्काे गरेका छन् । नेवारी समुदायको लोकजीवनमा अस्तित्वमा रहेको ख्याकको मिथक तथा परम्परामाथि कलाकार सुरज शिल्पकारले प्रस्तुत गरेको मूर्तिकला उस्तै सुन्दर छन् ।


‘योङ्ग आर्टिस सो’ नाम दिइएको प्रदशर्नीमा सुरेश महर्जन, सुरज शिल्पकार, रुबी महर्जन, राहुल महर्जन, निर्भिता शाक्य लगायतका १२ जना कलाकारहरु सहभागी छन् । सबै जसो कलाकाहरुले कलाका विभिन्न फर्ममा समकालीन समय र परिस्थितिलाई चित्रण गर्ने जमर्काे गरेका छन् । प्रदर्शनीका लागि खुल्ला विषय दिएर आव्हान गरिएकोमा युवापुस्ताका कलाकारहरुको उल्लेख्य सहभागिता रहेको प्रदर्शनीका क्युरेटर तथा कलाकार मनिषलाल श्रेष्ठले बताए । उनका अनुसार कला मार्फत कलाकारहरुले आफुले भोगेको, देखेको र सुनेको पक्षलाई कलामार्फत निकै सुन्दर ढंगले देखाएका छन् । युवा पुस्ताको भावना र प्रतिभालाई कदर गर्दै उनीहरुको कलालाई समेत मञ्च प्रदान गर्ने हेतुले कला प्रदर्शनी गरिएको हो । यस्ता खाले प्रदर्शनीले युवा पुस्ताका उदाउँदै गरेका कलाकारहरुलाई आफ्नो कुरा व्यक्त गर्न र कलाप्रति अझै सिर्जनशील हुन उत्प्रेरणा दिने प्रदर्शनी अवलोकन गर्न सहभागी कलाकार पृथ्वी श्रेष्ठले सुनाए ।

प्रदर्शनी यही साउन २१ गतेसम्म जारी रहनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
3
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका