‘एउटा मीठो स्पर्श
टोलाइरहेकी डोल्माको अधरमा ठोकिन्छ
शायद जरिबुट्टे भुल्के हुँदै कोक्साडाँडासम्म
थेबाको अन्तिम सेलोका टुक्काहरु
सेमला माया डोल्मालाई
भेट्न आतुर भएर बहेको हुनुपर्छ….।’
डोल्मा र थेबाको प्रेम, वियोग अनि सेलो धुनलाई समेटेर कवि इन्दु नेपाल योञ्जनले यसरी ‘प्रिय थेबा’ शीर्षकमा आफ्ना भावहरु कोरे र कविताको रुप दिए ।
थेबा र डोल्माको प्रेमसँगै गाँसिएका सेलो धुनहरु त्यसै विलीन भएर गए । उनीहरुको प्रेम र सेलोको लय एक्कासी प्राकृतिक विपत्तिमा ठोक्किएर टुङ्गियो । शून्य बने चौरी खर्कहरु, एक्लो बनिन् डोल्मा र अनि त्यसै लापत्ता भए उनको प्रिय थेबा । एवं रीतले हिजोदेखि आजसम्म कैयौं थेबाहरु विलीन हुँदै गए । थेबाहरु क्रमिक रुपमा कहिले प्रकृति, कहिले नियति त कहिले शासनको भुमरीमा उदाउन नपाउँदै अस्ताइरहे । उनीहरुसँगै धूमिल बन्दै गए थेबाहरु हुनुको अस्तित्व र उनीहरुको लय नै अन्तिम सेलो बनिरह्यो । त्यही अन्तिम सेलोको वियोगमा बाँचिरहेका डोल्माहरु र उनीहरुको रोदनमा घुमिरहेको सेलोलाई भोलिका पुस्तालाई सुनाउनुपर्छ । यसलाई युगौं युगसम्म पुर्याउनुपर्छ भन्ने ज्ञात जुन दिनमा भयो, त्यही क्षण कवि योञ्जनले सुरु गरे ‘अन्तिम सेलो’ यात्रा । साहित्य कला संस्कृति प्रतिष्ठान धरानबाट हालैमात्र प्रकाशित योञ्जनको पहिलो कवितासंग्रह हो ‘अन्तिम सेलो’ । ‘अन्तिम सेलोको अर्थ अन्त्य हुनु होइन । तामाङ पहिचान, संस्कृति र सभ्यताको नयाँ रुपको सुरुवात गर्नु हो । हिजो राज्य, सत्ताको दमन र उत्पीडनमा बाँचेका हामी तामाङहरु अब आफ्नै ठाउँबाट जुटौं । हाम्रा दुःख र पीडाहरुलाई अन्तिम सेलोका रुपमा लिएर सुखले बाँचौं’ उनले यसरी आफ्नो संग्रहबारे प्रस्ट्याए । विश्वभरी तामाङहरु छरिएर रहेका छन् । शिक्षा, स्वास्थ्य, आर्थिक तथा सामाजिक रुपमा हिजोको तुलनामा आज तामाङहरुको हैसियत माथि उठेको छ । हिजो जुन रुपमा हामीले अँध्यारोमा युगलाई छिचिल्यौं र आफ्नो जाति, भाषा, संस्कृति तथा सभ्यतालाई जोगायौं त्यसैलाई अब भोलिको पुस्तालाई प्रसारण गरौैं भन्ने योञ्जनको कवितामार्फत नै आग्रह छ । ‘हिजोको दलन र पीडाप्रति आज हामी सकारात्मक बनेर अघि बढ्न सक्छौं’, उनी भन्छन्,‘आज हामी शिक्षित र बोल्न सक्ने भएका छौं । अब हामीले हिजोको पीडा भुलेर हाम्रो कुरा प्रत्येक पुस्तामा प्रसारण गर्नुपर्ने समय भएको छ ।’
आफ्नो कर्मसँगै सिर्जना यात्रालाई स्वतन्त्र रुपमा उनले अगाडि बढाइरहेका छन् । यही सिर्जनामा उनी तामाङ पहिचान खोज्छन् र खोज्नुपर्छ भन्ने अडान राख्छन् । उनी चाहन्छन्,तामाङहरुको अनुहार साहित्य, स्वास्थ्य, शिक्षा जस्ता हरेक क्षेत्रमा देखिनुपर्छ ।
संखुवासभा, चैनपुरस्थित कोक्सापोखरीका योञ्जन पेसाले स्वास्थ्यकर्मी हुन् । विगत २३ वर्षदेखि उनी स्वास्थ्य क्षेत्रमा आवद्ध छन् । हाल धरान सुनसरीस्थित ‘विजयपुर अस्पताल’का प्रशासक प्रमुख योञ्जनले स्वास्थ्य सेवा कर्मसँगै साहित्य सिर्जनालाई अगाडि बढाइरहेका छन् । उनका सिर्जनाहरुमा आदिवासी, सिमान्तकृत र उत्पीडन वर्गका मुक्तिका आवाजहरु उठान भएका छन् । जहाँ रोदन, क्रन्दन र चित्कारसँगै भोलिका आशाहरु सल्बलाएका पाइन्छन् ।
सानैदेखि सिर्जनामा रमाउने योञ्जनलाई कर्मले स्वास्थ्यक्षेत्रतिर डोर्यारो । तथापि उनी आफू स्वास्थ्यकर्मीभन्दा पहिला साहित्यकर्मीको रुपमा उदाइसकेको सुनाउँछन् । स्वास्थ्य क्षेत्र त उनको जीवन चलाउने पेसा थियो पछि यसैमा उनको सेवा र थाती रहेको साहित्य सिर्जना पनि उर्बर बन्यो । उनी जे देख्छन् र जे महसुस गर्छन् त्यसैलाई साहित्य सिर्जनामा उतारिदिन्थे । लेख्दै र भोग्दै जाने क्रममा उमेर परिपक्कतासँगै उनले आफू हुनु र नहुनुको अस्तित्व बोध गरे । उनले आफ्नो जाति, संस्कृति, भाषा, परम्परालाई आफू हुनुको अर्थमा तौलेर हेरे । जतिबेला उनले आफू हुनुको अर्थ र आफ्नो पहिचानको खोजीलाई तिव्र बनाए, त्यतिबेला उनले आफ्नो भन्नेहरु र आफुसँग सम्बन्ध राख्ने सबैकुराहरु गौण रुपमा देखे । भएका कुराहरु पनि विलीन भइरहेको अवस्थामा पाए । तीनै आफ्ना कुराहरुलाई नै उजागर गर्नुपर्छ भन्ने अठोट लिएर उनले सिर्जनामा उतार्न थाले । आफ्नो सिर्जनामा आफू हुर्किएको लिम्बु समाज र साहित्यले निकै प्रभावित भएको उनले सुनाए । ‘लिम्बु समाज र मुन्धुम संस्कृतिहरु साहित्यमा आएको मैले निकै देखेँ । तामाङहरुको बारेमा लेखिएका साहित्यहरु खासै देखिँन । त्यसपछि भने मलाई झन लेख्नुपर्छ भन्ने सोच आयो’, उनले आफ्नो सिर्जना यात्राबारे बताए । उनी आफ्नो साहित्य सिर्जना समुदायको आवाज बोल्ने माध्यम बनोस् भन्ने चाहन्छन् । उनलाई आफू र आफ्ना भनिएकाहरु सबैलाई सिर्जनामा समेटेर निकै परसम्म लैजानुछ ।
काठमाडौं होस् या केन्द्रिय स्तरमा हुने साहित्यिक सम्मेलन, कवि गोष्टी स्रष्टा तथा जमघटमा सष्टाको छवि बोकेर हिँड्नलाई कवि योञ्जनको समयले दिएको छैन । घर, अस्पताल, बिरामी, सेवा यस्तै सेरोफेरोमा फुरेका उनका कविताहरुमा नै उनले आफुलाई अभ्यस्त बनाएका छन् । उनी अस्पतालमा बिरामीको चित्कारलाई नजिकैबाट नियाल्छन् र बाँच्न खोजिरहेका आशाहरु, त्यसै अस्पतालका कोठाका भित्ताहरुमा हराएका आवाजहरुलाई शब्द र अक्षरहरुमा उतार्छन् अनि त्यसलाई मौन समयमा कवितामा सिंगार्छन् । बिरामीको पीडा, क्रन्दन, हाँसो र खुसी, नर्सले दिँदै गरेको इन्जेक्सनदेखि अन्तिम मृत्युसम्म क्षणमा उनमा आएका भावहरु उनी अस्पतालमै हुँदा पनि कविताका रुपमा नाचिरहेका हुन्छन् । केही क्षण त उनी केही भावुक हुन्छन् र फेरि आफ्नै लयमा फर्कछन् । ती सबै भावहरुलाई मुक्ति दिनका लागि त्यसमा नयाँ कुराहरु पनि पत्ता लगाउँछन् र घरसम्म आएर कविताका रुपमा विश्राम दिन्छन् । यसरी उनको साहित्य र स्वास्थ्य कर्म अगाडि बढिरहेको छ ।
मोफसलमा बसेर सिर्जना कर्ममा लागिरहेका स्रष्टा तथा सर्जकहरु केन्द्रमा ओझेल परिरहेको छ । पद, प्रतिष्ठा, पुरस्कार यी अनेकौं लाभहरु केन्द्रतिरै बाँडफाँड हुन्छन् भन्ने गुनासो साहित्य फाँटमा यताकदा सुनिन्छ । यसमा भने योञ्जनलाई कुनै सहमति र विमति छैन । आफ्नो कर्मसँगै सिर्जना यात्रालाई स्वतन्त्र रुपमा उनले अगाडि बढाइरहेका छन् । यही सिर्जनामा उनी तामाङ पहिचान खोज्छन् र खोज्नुपर्छ भन्ने अडान राख्छन् । उनी चाहन्छन्, तामाङहरुको अनुहार साहित्य, स्वास्थ्य, शिक्षा जस्ता हरेक क्षेत्रमा देखिनुपर्छ । उनलाई लाग्छ,‘तामाङहरु अब डाक्टर बन्न सक्छन्, गाडी चनाउन मात्र होइन बनाउन सक्छन् र अरुलाई पढाउने शिक्षक बन्न सक्छन् ।’ यही कुरा उनी बुलन्द रुपमा साहित्यमा ल्याउन खोजिरहेका छन् । आफ्ना कुरा लेख्नलाई कुनै वाद र झुण्डको सहारा लिनुपर्छ भन्ने उनलाई लाग्दैन । सानो दायरा र समूह नै किन नहोस् आफ्नो कुरा निरन्तर राख्नुपर्छ भन्ने उनको अठोट छ । आफ्नो सिर्जना बलियो भयो या भएन भन्ने तर्क र वितर्कमा उनी छैनन् । ताम्सालिङभन्दा बाहिर पनि तामाङ समाज कसरी बाँचेका छन् र उनीहरुले तामाङ सभ्यता तथा इतिहासलाई कसरी बचाएको छ भन्ने यथार्थतालाई आफ्नो सिर्जनाले समेटेर उत्थान गर्ने जमर्काे गरिएको उनको ठहर छ ।