गृहमन्त्री श्रेष्ठलाई प्रेस चौतारी अध्यक्ष बस्नेतको खुला चुनौती‚ साइबर क्राइम प्रमाणित गरेर देखाउनोस्

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
63 Shares
काठमाडौं

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई खुला चुनौती दिएका छन् । बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको सुन प्रकरणलाई लिएर लेखिएको स्ट्याटसलाई लिएर आज दिनभर उनीविरुद्व फन्ड मच्चाएपछि उनले फेरी स्ट्याटसमार्फत नै चुनौती दिएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत लेखिएको छ‚‘कमरेड सबै कुरा थाहा छ, मैले हिजो बेलुका लेखेको यो स्ट्याटसलाई साइबर क्राइम प्रमाणित गरेर देखाउनोस् ।’

उनले आज दिनभर मविरुद्व गिरीले नेपाल प्रहरीको साइवर ब्युरोमा उजुरी दर्ता गर्ने‚ समाचार लेखाउने र मेटाउने सबै गृहमन्त्री श्रेष्ठद्वारा आदेशमा सचिवालयको योजना रहेको जिकिर गरे ।

उनले लेखेका छन्‚ ‘गृहमन्त्रीको सचिवालयबाट प्रहरीमा उजुरी गरेँ भन्नु नै पदको चरम दुरुपयोग हो । आतङ्क मच्चाए, विरोधी सबैको मुख बन्द गराएर आफूले गरेको सबै गल्ती ढाकछोप पार्ने र सत्यलाई घाँटी निमोठेर मार्ने योजना नै हो ।’

उनले भने‚‘मैले हिजो आएको सूचना अनुसार गृह मन्त्रालयको नेतृत्वको संलग्नताबिना यति धेरै अर्थात् एक क्विन्टल भन्दा बढी सुन ल्याउन र भन्सार कटाएर सडकमा ल्याउन सम्भव नै थिएन भनेको थिएँ । यो कुरामा प्रश्न गर्नु वा प्रश्न उठाउनु पनि अपराध हो र ? माथिल्लो तहको संलग्नताबिना विमानस्थलबाट एक क्विन्टल सुन भित्र्याउन सम्भव छ गृहमन्त्रीज्यू ? विगतमा तपाईँ नै यसरी प्रश्न गर्ने गर्नुभएको थिएन र ?’

यस्तै प्रेस चौतारी नेपाल केन्द्रीय समितिद्वारा प्रेस विज्ञप्ति जारी गर्दै गृहमन्त्रीको सचिवालयबाट भएको यो काम अत्यन्तै आपत्तिजनक मात्र होइन, नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक र वाक स्वतन्त्रताको समेत विरुद्धमा भएको बताइएका छन् ।

‘सत्ता उन्मादमा आएर आफूमाथि कसैले प्रश्न उठाउन नदिने योजनाका साथ चालिएको यो काम तत्काल फिर्ता लिएर माफी माग्न हामी गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छौँ’‚ समितिका महासचिव हिरामान लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ ।

गृहमन्त्रीलाई खुला चुनौती

काँक्रो आफूले खाएर बियाँ अरूको निधारमा टाँस्ने काममा हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठ माहिर हुनुहुन्छ । उहाँबाट यही अपेक्षा थियो, भयो । मलाई थाह छ, कमरेड नारायणकाजी श्रेष्ठको विशेष रुचि भन्सारतिर कर्मचारी सरुवामा हुन्छ । कतिपय घटनाका साक्षी म आफै छु । एक पटक उहाँले अर्थमन्त्रीलाई फोन गरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयदेखि चार वटा भन्सारका प्रमुख सरुवा गर्न नाम टिपाउँदा म प्रत्यक्षदर्शी थिएँ । प्रहरीको सरुवा र बढुवामा पनि कमरेडको राम्रै रुचि रहेको कुरा कुनै बेला प्रमाणसहित ल्याउँला । आफू राम्रो बाँकी सबै नराम्रा भन्ने बिचारका प्रणेता गृहमन्त्री कमरेड नारायणकाजी श्रेष्ठले आफ्नै सचिवालयबाट फोन गरेर प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत अर्थात् मलाई प्रहरीले पक्राउ गर्‍यो भनेर समाचार लेखाउनु भएछ ।

दिनभर सचिवालयका सदस्य खटाएर मलाई पक्राउ गर्‍यो भनेर समाचार लेखाउने काम भयो । समाचार लेख्नेहरू अहिले गृहमन्त्रीको सचिवालयबाट गलत सूचना दिएभन्दै हटाइरहेका छन् । सुनकोसी डटकमले समाचार हटाएको छ । त्यो समाचार लेखाउने व्यक्ति गृहमन्त्रीकै सचिवालयका सदस्य हुन भन्ने कुरा प्रमाणित भइसकेको छ । भर्खरै गृहमन्त्रीका प्रेस हेर्ने मित्र कमल गिरीले नेपाल प्रहरीको साइवर ब्युरोमा उजुरी दिएर आएँ भन्दै तपाईँले स्ट्याटस सच्याउनुस् भन्नुभयो । मैले भने साइबर क्राइम लगाउने विषय के हो मलाई पनि थाह छ । उहाँको बोली धम्कीकै थियो । धेरै साथीले उहाँले नै म पक्राउ परेको भनेर समाचार लेखाउनु भएको भनेर मलाई भन्नुभएको छ । उहाँले मैले त्यसो गरेको होइन, तर गृहमन्त्रीको सचिवालयमा भएको नाताले उजुरी दिएर आएको छु भन्नुभयो । गृहमन्त्रीको सचिवालयबाट प्रहरीमा उजुरी गरेँ भन्नु नै पदको चरम दुरुपयोग हो । आतङ्क मच्चाए, विरोधी सबैको मुख बन्द गराएर आफूले गरेको सबै गल्ती ढाकछोप पार्ने र सत्यलाई घाँटी निमोठेर मार्ने योजना नै हो । मैले हिजो आएको सूचना अनुसार गृह मन्त्रालयको नेतृत्वको संलग्नताबिना यति धेरै अर्थात् एक क्विन्टल भन्दा बढी सुन ल्याउन र भन्सार कटाएर सडकमा ल्याउन सम्भव नै थिएन भनेको थिएँ । यो कुरामा प्रश्न गर्नु वा प्रश्न उठाउनु पनि अपराध हो र ? माथिल्लो तहको संलग्नताबिना विमानस्थलबाट एक क्विन्टल सुन भित्र्याउन सम्भव छ गृहमन्त्रीज्यू ? विगतमा तपाईँ नै यसरी प्रश्न गर्ने गर्नुभएको थिएन र ?

कमरेड नारायणकाजीबाट यही अपेक्षा थियो, खुसीको खबर सुनियो, दिनभर समाचार लेखाइयो, अनि प्रहरीलाई निर्देशन दिइयो, ‘साइबर क्राइम लगाऊ ।’

प्रिय नारायणकाजी कमरेड, तपाईँले २०६५ सालदेखि को–को बिरुद्ध समाचार लेखाउनु भयो ? के के काम गर्नुभयो ? भर्खरै मात्र पनि पत्रकार बोलाएर ? मबाहेक प्रधानमन्त्री र अरु सबै मन्त्रीको धन्दा ठिक भएन, काम गर्ने त म मात्रै भएँ, मलाई कसैबाट सहयोग भएन भनेर आफ्नै मुखारबृन्दबाट ओकल्नु भएकै हो । कमरेड सबै कुरा थाहा छ, मैले हिजो बेलुका लेखेको यो स्ट्याटसलाई साइबर क्राइम प्रमाणित गरेर देखाउनोस् ।

प्रेस चौतारीमा बिज्ञप्ति

प्रेस चौतारी नेपाल निरङ्कुश शाही शासनको विरुद्ध डटेर नै यहाँसम्म आइपुगेको हो । जस्तासुकै अधिनायकवादी शासन सत्तासँग नझुकेको हाम्रो सङ्गठन कठिन परिस्थितिमा पनि सत्यको वकालत गर्ने र प्रश्न सोध्ने अधिकार सुरक्षित राख्ने भूमिकामा कहीँ कतै चुकेको वा झुकेको छैन, झुक्नेवाला पनि छैन । शासन सत्ताको बागडोर आफ्नै हातमा लिएका तत्कालीन राजाको आतङ्क र धम्कीसामु नझुकेको प्रेस चौतारी नेपाल र यसको नेतृत्व गृहमन्त्रीको धम्की वा आतङ्कपूर्ण व्यवहारबाट किमार्थ डराउनेवाला छैन ।

गृहमन्त्रीको सचिवालयबाट भएको यो काम अत्यन्तै आपत्तिजनक मात्र होइन, नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक र वाक स्वतन्त्रताको समेत विरुद्धमा छ । सत्ता उन्मादमा आएर आफूमाथि कसैले प्रश्न उठाउन नदिने योजनाका साथ चालिएको यो काम तत्काल फिर्ता लिएर माफी माग्न हामी गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छौँ ।

साथै नेपाली प्रेसको मुख थुनेर आतङ्कित पार्दै आफ्नो अधिनायकवादी शासन चलाउने योजनामा तत्काल ब्रेक लगाउन पनि चेतावनी दिन चाहन्छौँ । आफूमाथि उठेको प्रश्नको जवाफ दिनुको साटो गृह मन्त्रालय नै गैर कानुनी बाटोमा हिँड्ने यो तहको गैरजिम्मेवारपूर्ण कामप्रति प्रेस चौतारी नेपाल खेद व्यक्त गर्दछौँ । साथै हाम्रो सङ्गठनको अध्यक्षलाई फसाउन रचिएका सबै षडयन्त्रबारे हामी जानकार रहेको सार्वजनिक गर्दै जिस्क्याउने काम भएमा त्यसबाट उत्पन्न हुने परिणामप्रति गृहमन्त्री नै जिम्मेवार हुने चेतावनी पनि दिन चाहन्छौँ ।

हिरामान लामा
(महासचिव)

तपाईको प्रतिक्रिया

पत्रपत्रिका