‘स्याफ्रुवेसि आमा समूह नमुना च्याउ खेती’ सफल उद्यमीका उदाहरण संस्था हुन् । रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुवेसीका दावाग्याल्मो तामाङनी र छोमो लामा सहित ९ जनाले जन्माइएका संस्थाले थोरै लगानीमा च्याउ व्यवसाय सुरु गरेका हुन् ।
गोसाईंकुण्ड गाउँपालिका कृषि शाखाका अनुसार उनीहरूले २०७० सालमा तत्कालीन कृषि विकास कार्यालयबाट ९ हजार र ९ जनाको समूहबाट ७ हजार रुपैयाँ जम्मा गरेर च्याउखेती सुरु गरिएको हो ।
च्याउ खेती गरेका दुई वर्ष त राम्रो स्थानीय बजारमा बिक्री भइरहेको थियो । जब २०७२ सालमा भूकम्प आयो र च्याउ उत्पादन गर्ने घर भल्काइदियो। त्यसले व्यवसायमा अन्यौलता ल्याएको दावाग्याल्मो बताउँछिन् । तैपनि यो व्यवसायलाई कतै नडगमगाई निरन्तर दिई व्यावसायिक रूपमा नै समूह गठन गरी सामूहिक व्यवसाय सुरु गरेका हुन् । उनीहरूले कृषि शाखाबाट १३ हजार रूपैयाँ अनुदान पनि पाएका थिए ।
व्यवसाय सुरुवाती दिनहरूमा लघु उद्यमले प्लास्टिक, पराल दिएर व्यवसाय सुरु भएको हो । शत प्रतिशतमा २५ प्रतिशत मात्रै अनुदान आउने समूहको छोमो लामा बताउँछन् ।
खेती त राम्रो हुने हो‚ उनी भन्छिन्‚ ‘कहिले भूकम्प‚ कहिले कोरोना र कहिले बजार भाउ नभएकाले पनि व्यवसायमा ह्रास आउने गर्दछ।’
भूकम्प आउनु अगाडि एउटा घर जस्तो थियो । भूकम्पले लडाएपछि लघु उद्यमले ९ लाखको घर बनाइदियो‚ त्यसपछि च्याउ खेतीमा अग्रसर भई अगाडि बढेको उनीहरूले सुनाए । ‘स्थानीय बजारमा २ सय ५० रूपैमा प्रतिकेजी विक्री हुन्छ’‚ दावाग्याल्मोले भनिन्‚ ’यो खेती गर्न सके यसैमा पैसा छ ।’
कोरोनाले २ वर्ष जस्तो बन्द नै भयो । त्यस पछिका दिनहरूमा गोसाईंकुण्ड गाउँपालिका कृषि शाखाले १५ हजार अनुदान दिएपछि थप हौसला बढ्यो ।
छोमो भन्छिन्‚ ‘च्याउबाट आम्दानी भरपुर छ’। कहिले नाफा‚ कहिले घाटा त भइरहन्छ । हरेस नखाई अगाडि बढेमा ढिलै भए पनि आम्दानी सोचेजस्तै हुन्छ ।’
‘व्यावसायिक रूपमा च्याउ खेतीमा लाग्न यसको प्राविधिक पक्षबारे जानकारी हुनै पर्छ,’ उनी भन्छन्‚ ‘अन्यथा यसमा गरिने लगानी बमोजिम प्रतिफल हासिल हुँदैन ।’
च्याउमा हरियो, पहेँलो, कालो ढुसी आउँछ तर त्यति नोक्सान भने हुँदैन । त्यस्तै, यसमा नोक्सान गर्ने अर्को कारण मुसा हो ।
च्याउको माग स्थानीय बजारदेखि अन्य बजारमा माग बढ्दो छ । च्याउ खेती गर्न खासै लगानी आवश्यक पर्दैन । सामान्य आय भएका परिवारले पनि लगानी गर्न सक्छन् । यसबाट प्रतिफल लिन पनि खासै समय लाग्दैन । त्यसैले सीप सिकेर अठोटका साथ काम गर्दा सफलता निश्चित नै छ ।