७७ वर्षमा कला सिर्जनासँगै फुलेकी निर्मला

सुशीला तामाङ
सुशीला तामाङ संचारकर्मी
966 Shares
काठमाडौं

रातो रंगमा फुलेको गुराँसको फूल । पहेँलो रंगमा सुनौला देखिएका सूर्यमुखी र गोदावरी फूलका रङहरुमा आफ्ना कला सिर्जनाका आयाम मात्र होइन निर्मला जोशीले श्रीमान्कोे स्मरण पनि संगालेकी छन् । वि.सं. २०३२/०३३ सालतिरै तेल र पानी रङका माध्यममा तयार गरिएका यी कलाकृतिहरुमा निर्मलासँगै उनका श्रीमान्का कला शिल्प र रङहरु मिसिएका छन् । श्रीमान् रामानन्द जोशीलाई स्मरण गर्दै कलाकार निर्मलाले आफ्नो कला यात्राबारे सुनाइन् । श्रीमान् र आफ्नो जीवन यात्रालाई संगालेर तयार भएका सिर्जनाहरुलाई संकलन गरेर उनले ७७ वर्षमा एकल कला प्रदर्शनी गरेकी छन् । श्रीमान्सँगै प्रकृति, जीव, जीवनलाई दर्शाउने र विगतका स्मृतिलाई ब्युँझाउने उनका ढेड दर्जनभन्दा कला सिर्जनाहरु यतिबेला पुलचोकस्थित पार्क ग्यालरीमा प्रदर्शनरत छन् ।

नेपाली ललितकला सिर्जनालाई यहाँसम्म ल्याउनुमा कलाकार रामानन्दको ठूलो देन छ । सिर्जनालाई देश र भूगोलसँग जोड्नुपर्छ भन्ने धारणा राख्ने उनको ‘ओपन आर्ट’ अवधारणाले कलालाई प्रकृतिको खुल्ला आकाशमा पुर्‍यायो । बम्बईमा सन् १९५९ मा ‘जे.जे स्कुल अफ आर्ट’मा अध्ययनका लागि गएका उनी १९६४ मा स्वदेश फर्किए । सन् १९६४ पछि प्रभाववादी जलरंग दृश्य चित्रको माध्यममा कला र देशलाई उतारेका उनले १९७० मा रत्नपार्कमा ‘पार्क ग्यालरी’ स्थापना गरेर आधुनिक कला सिर्जनालाई बेग्लै उचाई दिए । मुलुकको विभिन्न कुना–कन्दरामा गएर ल्याण्डस्केप कला सिर्जनासँगै उनले नयाँ कलाकार उत्पादनमा समेत महत्वपूर्ण भूमिका खेले । किरण मानन्धर, रमेश खनाल लगायतका कलाकारहरुले उनैको छत्रछायामा कला सीप र ज्ञान लिए । पछि पार्क ग्यालरी पुलचोकस्थित उनैको घरमा स्थानान्तर भयो । तिनै ग्यालरीमा थुप्रै स्वदेशी तथा विदेशीहरुले कला सीप लिने अवसर पाए । अहिले रामानन्दको सन्तानहरुले पार्क ग्यालरीसँगै उनको कलायात्रालाई जीवन्त बनाउन सोही घरमा ‘आरएन जोशी’ संग्रहालय स्थापना गरेका छन् ।

पुलचोकस्थित आरएन जोशी संग्रहालय परिसरमा कलाकार निर्मला जोशी

रामानन्दसँग जोडिएका यी सबै कला यात्रा र उतारचढावहरुका साक्षी हुन्, निर्मला । वि.सं. २०२१ सालमा रामानन्दसँग वैवाहिक बन्धनमा गाँसिएपछि उनले कलायात्रालाई निरन्तरता दिइन् । सन् १९५८ तिर तेजबहादुर चित्रकार हेडमास्टर रहेको जुद्धकला पाठशालामा झण्डै चार वर्ष कलाको औपचारिक ज्ञान लिएकी काठमाडौं महाबौद्धकी निर्मलाको कला शिक्षा त्यसपछि टुंगियो । उमेर बढेपछि छोरीले घरबाहिर निस्कन हुन्न भन्ने तत्कालीन सामाजिक मान्यताले पढ्न छोडेकी उनको केही समयपछि रामानन्दसँग विवाह भयो । उनका अनुसार भारतबाट कला शिक्षा लिएर फर्केका रामानन्दले कलामा केही जानेको र कला ज्ञान भएकै कारण उनीसँग विवाह गरेका थिए । ‘मैले केही भएपनि कला जानेको भन्ने थाहा पाएर नै उहाँले मसँग बिहे गर्नुभएको थियो’, उनले स्मरण गरिन्,‘उहाँले गाउँ–गाउँ घुमेर पेन्टिङ गर्ने गर्नुहुन्थ्यो । अरु आर्ट सिक्नेहरु र मलाई पनि सँगै लिएर जानुहुन्थ्यो । त्यसबाट मैले पेन्टिङहरु बनाउने र रङहरु भर्न अझै सिकेँ ।’ कलालाई वृहत् रुपमा लैजानेदेखि कलाको संस्थागत विकासमा समेत रामानन्दले योगदान पुर्‍याए । नेपाली आधुनिक कला र कलाकारको उपस्थितिले तिव्र रुपमै फड्को मारिरहेको अवस्थामै वि.सं. २०४५ सालमै उनको अवसान भयो । ५० वर्षकै अल्पायुमै श्रीमान्लाई गुमाएकी निर्मलाको काँधमा पाँच सन्तानको जिम्मेवारी र रामानन्दको कला सपना अधुरै थियो । उनले सन्तानको लालनपालनसँगै, घर र कलायात्रालाई समेत निरन्तरता दिइरहिन् । उनका सन्तानहरु नीरा, नविन, नीति, जुनी र पुजेसले समेत उनको कलायात्रालाई निरन्तरताका लागि साथ दिए । उनका सन्तानहरुले आफूलाई पनि कलाका विभिन्न फर्ममा अभ्यस्त पार्दै बुबाको कलालाई म्युजियमको रुपमा स्थापित गरे । छोरा नविन ग्राफिक आर्ट डिजाइनमा छन् भने छोरी नीरा बोटानिकल आर्ट(वनस्पति विज्ञानको सुक्ष्म अध्ययन गरी सिर्जना गरिने कला) सिर्जनालाई अगाडि बढाइरहेकी छन् ।

पुलचोकस्थित पार्क ग्यालरीमा प्रदर्शनरत कलाकृतिहरु देखाउँदै कलाकार निर्मला जोशी

निर्मलाले भने श्रीमान्को अवसान भएको ३५ वर्षपछि मात्र आफ्नो कलाकृतिहरुलाई आम कलाप्रेमीहरुमाझ सार्वजनिक गरिन् । लामो समयदेखि संग्रह गरिराखिएका कलाकृतिहरुलाई उनको जन्कु (नेवार संस्कृतिमा ७७ वर्ष सात महिना र सात दिन पुगेको अवसरमा मनाइने उत्सव)का अवसरमा प्रदर्शन गरिएको हो । सुरुमा त उनले मानेकी थिइनन् । छोराछोरीले कर गरेपछि उनी सहमत भएकी थिइन् । उनका अनुसार आफू कलाकारका रुपमा आउन र कलाकृतिहरु प्रदर्शन गर्नकै लागि भनेर सिर्जना गरिएको होइन । कुराकानीकै क्रममा उनले भनिन्,‘म ठूलो कलाकार होइन । प्रदर्शन गर्छु भन्ने पनि होइन । एक्लै भएको बेला मनलाई खुसी बनाउन मैले आर्ट गर्ने गरेकी थिएँ ।’ उनका कलाकृतिहरु फूल, चराचुरुङ्गी र प्रकृति नै बढी केन्द्रित छन् । आफ्नै घर अगाडि फुलिरहेका फूलहरु, फलिरहेका फल र उडिरहेका चराहरुको आकृतिहरुलाई उनले आफ्नो कलाको रुप दिएकी छन् । उनको श्रीमान्ले कला यात्रा थालनी गर्दा कलाबाट नै जीवन निवार्ह गर्ने वातावरण बनेको थिएन । यद्यपि ब्रस र कुचीलाई चलाइराख्नुपर्छ र काम गरेर खान लाज मान्नु हुँदैन भन्ने धारणाले प्रेरित भएकी उनले त्यही अनुसार आफूलाई निरन्तर अगाडि बढाइन् । कहिले घरको छतमा आउने परेवा त कहिले घरकै आँगनमा फलेको अनारका फल र दानालाई नियाल्दै उनले त्यसैमा कुची र रङ चलाइरहिन् ।

पुलचोकस्थित पार्क ग्यालरीमा प्रदर्शनरत कलाकृतिसँगै कलाकार निर्मला जोशी

घरधन्दा र सन्तानको स्याहारसुसारपछि बचेको समयमा उनले सिर्जना गर्दै गरेको कलामा श्रीमान् जीवितै हुँदा कहिलेकाहीँ रङ थपिदिन्थे । त्यसैमा शैली र सीपलाई केही बढुवा दिने सुझाव पनि दिन्थे । उनी त्यस्तै गर्थिन् । अहिले उनीसँग श्रीमान्का यादहरु उनका कला सिर्जनाहरु मात्र उनीसँग छन् । त्यही श्रीमान्सँग जोडिएका कला सिर्जनाहरु हेरेर उनी मन भुलाउँछिन् । झण्डै एक दशकभन्दा अघि देखि नै भैँसेपाटीस्थित घरमा सरेकी निर्मला धेरैजसो पुलचोकस्थित घरमै आउँछिन् र दिनभरी बसेर बेलुका फर्किन्छिन् । सुरुमै उनी ढोकाबाट छिर्ने बित्तिकै श्रीमान्को तस्बिरसँगै कलाकृतिहरु नियाल्छिन् र फूल चढाएर प्रेमभाव अर्पण गर्छिन् । उनलाई लाग्छ, घरमै बनेको म्युजियममा सजिएका कुची, रङ प्रयोग गर्ने सामग्री र भित्ताभरी सजिएका कलाहरुमा नै उनका श्रीमान् जीवन्त रुपमा मुस्कुराइरहेका छन् । रामानन्दको जीवनमा कला सिर्जना यात्रामा निर्मलाले अहम् भूमिका खेलेको कलाकार एवं कला समीक्षक रमेश खनालको भनाई छ । ‘घरको काम र छोराछोरीको हेरचाहसँगै उहाँ रामानन्द सरसँगै फिल्डमा आर्ट वर्कशपहरुमा पनि जानुभएको मैले देखेको छु । रत्नपार्कमा आर्ट स्कुल, पार्क ग्यालरीदेखि पुलचोकको घरमा सरलाई आर्टमा लाग्न उहाँले निकै सहयोग गर्नुभएको छ’, उनले भने । निर्मला त्यतिबेला नै कला सिर्जनामा लागेको उनको मत छ । जीवनको उत्तरार्धमा एकल कला प्रदर्शनी गरिएकोमा खनालले खुसी व्यक्त गरे ।

निर्मलाको एकल कला प्रदर्शनी साउन १४ गतेसम्म जारी रहनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
3
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका