देश नेपालको सेवा कार्यमा समर्पित प्रतिभा, व्यक्तित्व तथा सामाजिक संस्थालाई प्रोत्साहन गर्ने उद्देश्य राखेर गठन भएको ‘होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान ट्रस्ट’ संस्थाको शुभारम्भसँगै मानव कल्याणमा समर्पित संस्थालाई ५० हजार ५० रुपैयाँ राशिसहित सम्मान प्रदान गरिएको छ ।
सङ्घीय उपसभामुख इन्दिरा राना मगर र ट्रस्टका अध्यक्ष तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठले काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित समारोहमा ट्रस्ट शुभारम्भ गरेका हुन् ।
सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा क्रियाशील ज्येष्ठ नागरिक, हिंसा पीडित महिला, बालबालिका तथा आश्रयविहीन सडक मानवको उद्धार तथा सेवामा संलग्न सुनसरीको इटहरीमा क्रियाशील ‘मायाघर नेपाल’ संस्थालाई ‘होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान सम्मान–२०८०’ सम्मान प्रदान गरिएको हो ।
मायाघर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले सम्मान ग्रहण गर्दै २०७२ सालदेखि बेवारिसे अवस्थामा रहेका ज्येष्ठ नागरिक, हिंसापीडित महिला, सडक मानवको उद्धार तथा संरक्षण कार्य गर्दै आएको बताइन् ।
ट्रस्टका सदस्य एवं अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारीले सम्मानित संस्थाबारे चर्चा गर्दै महिलाहरू सक्रियतामा स्थापित उक्त संस्थाले सडक जीवन बिताइरहेका ४ हजारभन्दा बढीको उद्धार तथा संरक्षण गरेको बताए ।
उक्त संस्थामा हाल १२४ जनाले आश्रय लिइरहेका छन् ।
उपसभामुख राना मगरले सरकारले असहाय व्यक्तिको संरक्षण सरकारले गर्नुपर्ने तर दायित्वबाट चुकेको बताइन् । ‘देशभरि ज्येष्ठ नागरिक, असहाय महिला, अपाङ्गता र आश्रयविहीन बालबालिका बढेका छन्,’ उपसभामुख राना मगरले भनिन्, ‘सरकारले उद्धार, संरक्षण गर्न नसके पनि मायाघर नेपालजस्ता संस्थाले गर्नुपरेको छ र मैले पनि गर्दैछु ।’
नेपाली समाजमा पुरुषले अधिकार लिएर बसेको र नारी शोषणमा परेको उल्लेख गरिन् । आमाको नामबाट नागरिकता लिने अधिकार भए पनि अझै सात लाख बच्चाको नागरिकता छैन,’ उनले भनिन् ।
यसै गरी राष्ट्रगानका रचयिता व्याकुल माइलाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ओखलढुङ्गाबाट महत्त्वपूर्ण भूमिका निर्वाह गरेको होमबहादुर श्रेष्ठ परिवारले सामाजिक कार्यमा पनि उत्तिकै योगदान पुर्याएको चर्चा गरेका थिए ।
बेलायतमा बस्दै आएका ट्रस्टका संरक्षक शिवजी श्रेष्ठले उमेरले ८४ वर्ष पार गरेका आफ्ना बुवा होमबहादुर श्रेष्ठ र आमा प्रेमकुमारी श्रेष्ठको नाममा संस्था गठन गरी मातृभूमिको सेवामा समर्पित व्यक्ति व्यक्तित्व र सङ्घसंस्थालाई प्रोत्साहन कार्य आरम्भ गरेको बताए ।
सभाध्यक्ष सीमाविद् श्रेष्ठले मातृभूमि नेपालको पहिचान जोगाउन देश–विदेशमा रहेका नेपाली जुट्नु पर्ने बताए । ‘भारत र चीन आपसमा मित्र देश हुन्,’ छिमेकी मुलुकसँग भौगोलिक अवस्थितिमा सम्बन्ध रहने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘हाम्रो शत्रु पनि हुन् र प्रतिस्पर्धी पनि हुन् । यी दुई देशसँग प्रतिस्पर्धा गरेर हामीले बाँच्नु छ । त्यसैले हामी मातृभूमिको पहिचानप्रति संवेदनशील रहन जरुरी छ ।’
त्यस अवसरमा गायिका रञ्जना श्रेष्ठले युगकवि सिद्धिचरण श्रेष्ठद्वारा रचित ‘मेरो प्यारो ओखलढुङ्गा’ र गायिका एन्जिला सिंह श्रेष्ठले महाकवि लक्ष्मीप्रसाद देवकोटा रचित ‘कुन मन्दिरमा जान्छौ यात्री’ कविता गायन प्रस्तुत गर्नु भएको थियो ।
यसै गरी सीमाविद् श्रेष्ठकृत ‘अबाउट माइसेल्फ’ गोजी पुस्तिका सार्वजनिक गरिएको थियो ।