‘यहाँ के छैन, सबथोक छ’

सुशीला तामाङ
सुशीला तामाङ संवाददाता
749 Shares
काठमाडौं

साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन ? सबथोक छ ।
असंख्य रोग छ, अनन्त भोक छ,
असीम शोक छ,
केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ ।’

कवि भूपि शेरचनको कविताले भनेजस्तै ‘यहाँ के छैन ? सबथोक छ ।’ मानिसका लागि सुखमा हाँस्न र दुःखमा रुन आवश्यक सबथोक वरिपरी नै छन् । यही सुख र दुःखको दोसाँधमा उभिएर मान्छे केही कुरा पाउन र केही गुमाउनकै लागि हरेक पल भौतारिरहेका छन् । आखिरमा हामी के पाउनका लागि मृत्युपर्यन्त लडिरहन्छौं ? हामीले पाउनु र गुमाउनुको अन्तरविरोधमा आफूलाई कहाँदेखि कहाँसम्मको यात्रामा डोराइरहेका छौं ? ती पाएका र गुमाएका अंशहरु के र कसका लागि थिए ? हाम्रो अनन्त यात्रा कहाँसम्म तय छन् ? यिनै प्रश्नहरुको जवाफ स्वरुप उकुसमुकुस भएर मनमा गढेका अनगिन्ती भावहरुको जवाफ संवेदी नाटक ‘चक्र’ले दिन्छ ।

सधैं झै नाटक मञ्चन अवलोकनका लागि पुगिरहने थापागाउँस्थित मण्डला थिएटरको आँगन साउन ३ गतेका दिन केही अनौठो रह्यो । नाटक हेर्ने दर्शकहरु नै स्वयं नाटकमा सहभागिता जनाए । आँखालाई छोप्ने ठूला चस्मा र कालो रङका पातलो ज्याकेटको सेटसहित सोही अनुसारको जुत्ताले शरीरमा स्पर्श गरेपछिको अनुभव अझ बेग्लै थियो ।

संवेदी नाटक चक्रमा सहभागीहरु । तस्बिरः सुजन घिमिरे, मण्डला थिएटर

मुखमा कसैले राखिदिएको घीउ र महको स्वादले अर्काे अनुभव दिलाउँदै थियो । जिब्रोले लिएको स्वाद मनको गहिराइसम्मको थियो । केही समयमै कसैको इशारामा कतै जाने संकेत आउँछ । उसैको इशारामा खुट्टाहरुले यात्रा तय गर्छन् । लाग्छ, सिंगो जीवन नै कुनै न कुनै पक्षको इशारामा चलायमान छ । त्यहाँ आफ्नो मन र इच्छाको कुनै मूल्य छैन । ओ हो! इशाराकै आदेशमा पाइला अगाडि बढाउँदै गर्दा निस्पट्ट अन्धकारमा पुगिन्छ । न कुनै उज्यालो, न कुनै मानव आवाज, न त कसैको साथ । मनमा बेचैनी बढ्छ । त्यतिकै पानी तप–तप झरिरहेको सुमधुर धुन सुनिन्छ । धुन पछ्याउँदै गर्दा अर्कै संगीतको ध्वनी तरंगित भइसक्छ । कहिले कर्कश, कहिले सुमधर ध्वनीहरुमा नै पाइलाहरु गतिशील भइरहन्छ ।

सेनसरी थिएटर फर्म मानवीय संवेग र अनुभूतिहरुसँगै कलाको रुपमा आउँदा यसले रंगमञ्चसम्मको यात्रा तय गरेको छ । जसमा मूर्त र अमूर्त माध्यमहरु समावेश हुन्छन् । यसमा मुख्यतः संवेगी प्रदर्शनमा आत्माको बोध हुनु जरुरी छ । जहाँ सहभागीहरुले इन्द्रियहरुमार्फत नै आत्मबोध गर्छन् ।

एक्कासी आकाश गर्जनको आवाजले मनमा चिसो पस्छ । हावा र हुरीको संकेतसँगै हातका औंलाहरुले कसैको साथ खोज्छ । पाइलाहरु सहजै अगाडि बढ्न सक्दैनन् । खुट्टा कसैले जोडले समाइरहेको भान हुन्छ । छिटोछिटो पाइला चाल्ने प्रयत्नमा कोही अपरिचितसँग ठोकिन पुगिन्छ । झट्ट छुटिन खोज्छु, फेरि अर्कैसँग ठोकिन पुग्छ । त्यो अन्धकारमा को आफ्नो र को पराई सबै विराना हुन्छन् । हातकै सहारामा करिब १५/२० मिनेटको यात्रा तय भसक्छ । गन्तव्य कहाँनेर छ, कुनै अत्तोपत्तो थिएन । शरीरले विश्रामको माग गर्छ । कतै थुचुक्क बस्न मन लाग्यो, चिसो पानी खान मन लाग्यो, उज्यालो हेर्ने मन भयो, मान्छेको आवाज सुन्न रहर जाग्यो । तर केही पनि सम्भव थिएनन् । भित्ताहरु खोज्दै एकैछिनको विश्रामका लागि भुइँतिर थचक्कै बसेँ । कानमा कसैले अनौठो धुन बजाइदियो । यो बेग्लै दुनियाँ र जीवनलाई अनुभूत गराउने केही समय नाटक ‘चक्र’ले जुराइदिएको थियो । रंगकर्मी रामहरी ढकालको परिकल्पना तथा निर्देशनमा तयार गरिएको नाटकमा विशेष त पाँच इन्द्रियहरुको सहायतामा सहभागीहरुलाई जीवन, संघर्ष र यात्रालाई महसुस गराउने जमर्काे गरिएको थियो । जसमा सहभागीहरुले सुनेर, छोएर, सुघेँर, हेरेर, स्वाद लिएर जीवनलाई महसुस गरे । नर्वेमा सेन्सरी थिएटर अध्ययन गरेका रंगकर्मी ढकालले नेपाली नाट्य क्षेत्रमा नै नौलो प्रयोग गर्ने प्रयत्न गरिरहेका छन् ।

तस्बिरः सुजन घिमिरे, मण्डला थिएटर

अघिल्लो वर्ष पनि उनले यसै विधामा जनयुद्धलाई मुख्य केन्द्रमा राखेर नाटक ‘इनसाइड–आउटसाइ/भित्र–बाहिर’ प्रस्तुत गरेका थिए । इन्द्रियहरुको सहायतामा युद्धले पुर्‍याएको मानसिक तथा मानवीय क्षतिको आत्माबोध उक्त नाटकले गराएको थियो । ‘चक्र’मा भने ढकालले मानवी जीवनका आयामहरुको पक्षलाई समेटेर मान्छेका जीवनको लयलाई छुने भरपुर प्रयास गरेका छन् ।

सेनसरी थिएटर फर्म मानवीय संवेग र अनुभूतिहरुसँगै कलाको रुपमा आउँदा यसले रंगमञ्चसम्मको यात्रा तय गरेको छ । जसमा मूर्त र अमूर्त माध्यमहरु समावेश हुन्छन् । यसमा मुख्यतः संवेगी प्रदर्शनमा आत्माको बोध हुनु जरुरी छ । जहाँ सहभागीहरुले इन्द्रियहरुमार्फत नै आत्मबोध गर्छन् । ध्वनी, प्रकाश, शरीरको चाल र प्रयुक्त प्रतिस्थापना कलाहरुको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । विश्वमा सेन्सरी थिएटर प्रयोगमा रहेपनि एउटा मात्र इन्द्रियलाई केन्द्रमा राखेर यस्ता प्रस्तुतिहरु गरिँदै आएको ढकालको दाबी छ । सबै इन्द्रियहरु मार्फत संवेगी कला प्रदर्शरन नेपालमा मात्र नभएर विश्वका लागि समेत नौलो प्रयोग हुन सक्ने उनको भनाई छ ।

तस्बिरः सुजन घिमिरे, मण्डला थिएटर

नाटकको मुख्य सार भन्नु नै मान्छेको जीवन यात्रा जन्म र मरणसँग मात्र जोडिएका छैनन् । जीवन र मरणको बीचमा गर्नुपर्ने उसका अनेकौं संघर्षहरु छन् भनेर औंल्याइदिनु हो । यात्रामा कठिन र सहज भयो भनेर मान्छेले यात्रा थाती विरलै राख्छन् । केही न केही प्राप्तिका लागि मान्छे निरन्तर संघर्षरत छ । बाँचुन्जेलसम्म मान्छेहरु विभिन्न चीजबीजसँग सम्बन्ध राख्छन् । माया, मोह, क्रोध, भय जस्ता पक्षहरुसँग मान्छेले एक्लै आफ्नाका लागि एक्लै युद्ध लड्नु छ । मान्छेका लागि संसारमा जीवित रहन्जुेल सबै भएर पनि केही नहुनु जस्तै हो । किन कि यात्रामा सहायता क्षणभर हुनसक्छ । मान्छे सबै भएर पनि अर्काे थोक खोज्नकै लागि भौतारिरहेको छ । यही भूपिले भने जस्तै ‘यहाँ के छैन ? सबथोक छ ।’ नाटक सकेपछि मनमा यस्तै अनुभूतिहरु बग्न थाल्छन् ।

बाँकी केही छ भने तपाइँ पनि मण्डलाको ‘चक्र’मा आफूलाई समाहित गर्न सक्नुहुन्छ । चक्र साउन १४ सम्म जारी रहनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
5
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका