ब्ल्याक भिलेज नामले परिचित गत्लाङ बन्यो बुट्टेदार‚ पहिचान मेटियो (फोटो)

घरपिच्छे होमस्टे‚ सिस्नो ढिँडो विशेष खुराक

2k Shares
रसुवा
ड्रोनबाट देखिएको गत्लाङ । तस्विर : छेडुप लामा

रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ३ स्थित ब्ल्याक भिलेज (कालो गाउँ) अर्थात् गत्लाङ भूकम्पपछि बुट्टेदारमा परिणत भएको छ। ब्ल्याक भिलेज (कालो गाउँ­) नामले देश विदेशमा चिनिएको थियो‚ गत्लाङ । कालो गाउँका घरहरू उस्तै । लस्करै जोडिएका ढुङ्गा र माटाले बनेका घरहरू । काठमा कुदिएका बुट्टेदार झ्याल ढोका । पहिलो तलामा उक्लने काठकै लिस्नो । भुईँ तलामा बस्तुभाउ राख्ने गोठ । हरेक घरको छाना काठबाट छाइएका । काठे छाना धुवाउँदै जाँदा कालो रङमा परिणत भई गाउँ नै सगोल कालो देखिन्थ्यो । कसको घर कुन हो ? छुट्टाउन सकिँदैन थियो । हिउँको चिसोमा यस घरभित्र बस्दा न्यानो हुन्थे । भूकम्पपछि कालो गाउँको पहिचान मेटिएको छ । स्वरूप फेरिएको छ । पर्यटनहरूको आगमन पनि तुलनात्मक रूपमा घट्दो छ।

तामाङ हेरिटेज ट्रेल सम्भवतः काठमाडौँबाट सबैभन्दा नजिकको सांस्कृतिक पदमार्ग हो । यस मार्गका गाउँहरू स्याफ्रुबेंसी, गोल्जुङ, गत्लाङ, चिलिमे, तेताङ्चे, गोङगाङ, तातोपानी, नागथली, थुमन र ब्रिदिम हुन् । तामाङको परम्परागत भेषभूषा‚ भाषा संस्कृति, बोन र बौद्ध धर्म संस्कृति, माने गुम्बाहरू यस पदमार्गको पर्यटकीय आकर्षण हुन् ।

पुननिर्माणपछिका गत्लाङ । तस्विर : छेडुप लामा

प्राकृतिक सौन्दर्यहरू आमाछोदिङ्मो (पार्वती कुण्ड), लालीगुराँस र खर्सुका जङ्गल, सान्जेन भ्याली, उच्च लेकाली खर्क र नागथलीजस्ता लाङटाङ हिमशृङ्खला यहाँका पर्यटकीय आकर्षणका विन्दुहरू हुन् । त्यसबाहेक वन्यजन्तु, पश्चिमे तामाङ संस्कृति अध्ययन, स्याब्रु नाच, माने नाच, घोडा नाच, जरायो नाच, घले दरबार आदि पर्यटक लोभ्याउने माध्यम हुन् ।

पुननिर्माणपछिका गत्लाङ । तस्विर : छेडुप लामा

भूकम्पले सबैको घर भत्किएपछि विभिन्न सङ्घसंस्थाले राहतको नाममा जस्तापाताले रङ्गिन हुन थाले । पुन निर्माणमा धेरैले काठको छाउने फल्याक निकाल्न सकिएन‚ जस्ताले घरका धुरीहरू छाउन थाले । अहिले कालो गाउँ स्वरूप फेरिएर रङ्गीचङ्गी भएको छ । त्यसो त यो गाउँमा आन्तरिक तथा बाह्य पर्यटनहरू कम भन्दा कम त्यहाँ पुग्दछन् ।

साबिकको गत्लाङ गाविस हुँदा पर्यटकीय हब बनाउन धेरै प्रयासहरू नभएको भने होइन । अब त्यसलाई जीवित राख्न स्थानीय सरकारले पहलकदमी गरिरहेको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताए ।

‘अहिले गत्लाङको पहिचान संरक्षणको विषय प्रमुख चुनौतीको विषय बनेको छ‚’ अध्यक्ष तामाङले भने‚ ‘ब्ल्याक भिलेजको नाममा नेपालमा मात्र नभएर विदेशमा समेत परिचित यस गाउँको पहिचान बिस्तारै हराउँदै गएको छ ।’ भूकम्पपछि भएको परिवर्तनप्रति गाउँपालिकाको ध्यानाकर्षण भएको उनले बताए । यसको संरक्षणमा के गर्न सकिन्छ ? अहिले हामी गृहकार्यमा नै छौँ ।

पुननिर्माणपछिका गत्लाङ । तस्विर : छेडुप लामा

‘पहिले मोटर बाटो नहुँदा स्याफ्रुबेँशीबाट हिँडेर दुई दिनमा कालो गाउँ पुग्थे र स्वर्गीय आनन्द हुन्थ्यो । तर अहिले त्यो छैन’‚ आमाछोदिङ्मो गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङ सुनाउँछिन्‚ ‘विकासले फड्को मार्दा गाउँसम्मै सवारीसाधन पुगेको छ । गत्लाङ रङ्गीबिरङ्गी भएपछि कालो गाउँको अस्तित्व नै मेटाइएको छ । अब यसको अस्तित्व कसरी जोगाउने भनेर गाउँपालिकाले गुरुयोजनाहरू बनाइरहेका छन् ।’

गत्लाङ गाउँ हिमालको नजिक भएकाले यहाँ मङ्सिर महिनादेखि नै हिउँ पर्न थाल्छन् र चिसो मौसम सुरु हुन्छ ।

गत्लाङबाट देखिएका हिमाल । तस्विर : छेडुप लामा

यस गाउँलाई कालो गाउँको रूपमा जीवित राख्न नसक्नाले पनि पर्यटकहरू घटेको स्थानीय प्रभात लामाले बताए । यो ठाउँ वातावरणको हिसाबले पनि एक महत्त्वपूर्ण मानिन्छ । यहाँबाट बिहान उठ्ने बित्तिकै ओछ्यानबाटै लाङटाङ हिमाल आँखै अगाडि देखिन्छ।

गत्लाङकै सिरानमा डढेलोले खाएका हजारौँ रूखहरू छन् । यसलाई पनि विभिन्न रूपमा प्रयोग गर्न सकिनेछ ।

भूकम्पले थलिएको गत्लाङ कोरोनाको महामारीले थिचिएको छ । त्यस बेला हामी त यहाँबाट सहर पसेको तामाङ होमकी सञ्चालक सुनिता तामाङले बताइन् । उनले त्यो बेला दुई वर्ष त पर्यटन क्षेत्र नराम्रोसँग थला परेकोले हामीसमेत सहर पस्न बाध्य भएको बताइन् ।

काठमा कुदिएका बुट्टेदार झ्याल । तस्विर : छेडुप लामा

पुनर्निर्माणले भिन्न भिन्न डिजाइनका घरहरू बनेका छन् । त्यसमा कोही बस्दैनन् । पुरानै घरमा बस्छन् ।

रैथाने उत्पादनका विभिन्न ताजा खानेकुरा‚ सिस्नु ढिँडो यहाँका विशेष खुराक हुन् । गत्लाङको आलु सदरमुकामदेखि सहरसम्म परिचित छन् । आलु लगायत सिमी पनि गत्लाङको भनेपछि हारालुछ नै हुने गरेको स्थानीय होमस्टे सञ्चालक फुर्पुसिङगि तामाङ बताउँछन् ।

करिब ५ सय घरधुरी रहेको गत्लाङ गाउँको मुख्य पेसा कृषि हो। दोस्रोमा होमस्टे हो । यहाँ करिब घरपिच्छे होमस्टे छन् ।

त्यस्तै हिमाली दृश्य र मौलिक कला संस्कृति भेषभुषाले गर्दा गत्लाङको परिचर्चा हुन्छ ।

स्याव्र नाच्नका लागि तयारी । तस्विर : छेडुप लामा

२०५७।५८ सालमा टिआरपिएपि नामक गैरसरकारी संस्थाले कालो गाउँलाई परिचित गराउन विभित्र कार्यक्रम गरेको थियो । गोरेटो बाटो निर्माण र यहाँको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

धेरै टाढा–टाढाबाट ब्ल्याक भिलेज हेर्न आउने पर्यटकहरूले सोचेअनुसार नभेट्दा उनीहरूको मनमा कस्ता भावना आउँदा हुन् ? यो अहिलेका जल्दा बल्दा प्रश्नहरू हुन् ।

ब्ल्याक भिलेज (कालो गाउँ) अर्थात गत्लाङ । तस्विर : छेडुप लामा

तपाईको प्रतिक्रिया

पत्रपत्रिका