दसैङ्को मुखमा यातायात व्यवसायीले सर्वसाधारणमाथि खुलमखुला ठगी गरिरहेका छन् । व्यवसायीले यातायात सेवालाई कमाउ धन्दाका रूपमा प्रयोग गरिरहेका छन् ।
दसैंमा उपत्यकाबाट २५ लाखको सङ्ख्यामा सर्वसाधारण बाहिरिने मौका छोपी व्यवसायीले विभिन्न बहानामा बढी भाडासमेत लिएको पाइएको छ । बसको टिकटमा तोकिएभन्दा बढी भाडा लिएर काउण्टरबाटै टिकट बिक्री भइरहे पनि सरकार भने मूकदर्शक बनेको छ ।
चावहिलस्थित सुपर खोटाङ भोजपुर यातायात प्रालि, मध्यमोलुङ यातायात प्रालिलगायतले तोकिएको भाडादरभन्दा बढी दरमा टिकट बेचिरहेका छन् । टिकट काउण्टरवालाले बस रिजर्भमा लिएकाले महँगो पर्न गएको बताउँदै २ सयदेखि ५ सय बढीसम्म लिने गरेको पाइएको छ ।
काठमाडौन्देखि दिक्तेलसम्मको भाडा अन्य काउण्टरमा १२ सय लिने गरेमा ती काउण्टरवालाले १५ सय लिने गरेका छन् । दिक्तेलसम्म सुमोले १८ सयसम्म लिने गरेकोमा उनीहरूले अहिले २५ सयसम्म लिने गरेको पाइएको छ । खोटाङ, भोजपुरलगायतका जिल्लामा १५ देखि १९ गतेसम्मका सबै टिकट सकिएको काउण्टरवालाले बताएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ।