हिमाली बौद्ध परम्परा तथा बौद्ध दर्शन सम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यशाला गोष्ठी बौद्ध जागरण केन्द्रको आयोजनामा बौद्ध तिनचुली स्थित नाम्गेल ज्याङछ्युव छ्योलिङ गुम्बामा सम्पन्न भएको थियो । कार्यशाला गोष्ठी यही साउन १२, १३ र १४ भएको थियो । कार्यशाला गोष्ठीको उद्घाटन परमपूज्य ४२ औँ शाक्य गोङ्मा रत्नबज्र रिन्पोछेको बाहुलीबाट भएको थियो । कार्यक्रममा विशेष अतिथि बौद्ध दर्शन, प्रवर्धन तथा गुम्बा विकास समितिका अध्यक्ष गेसे थुप्तेन जिगडोल रहनुभएको थियो ।
कार्यक्रमको पहिलो दिन तीन वटा कार्यपत्र प्रस्तुत भएको थियो । खेन्पो ङिमा सिङगेले चार चित्त निवृत्ति, आचार्य थुप्तेन देलेक तामाङले भवचक्र, र आचार्य नुर्बु शेर्पाले बौद्ध शिक्षा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसै गरी कार्यक्रमको दोस्रो दिन खेन रिन्पोछे घ्युर्मे छुल्ठिले ञिङमा परम्पराको, आचार्य कर्म साङबोले कग्यु परम्पराको, खेन्पो खोरछ्याक टुल्कु रिन्पोछेले साक्या परम्पराको र गेसे सेरपले गेलुग परम्परा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्तिम दिन बौद्ध दर्शन, प्रवर्धन तथा गुम्बा विकास समितिका अध्यक्ष गेसे थुप्तेन जिगडोलले बौद्ध दर्शन सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसै गरी समापन कार्यक्रम केन्द्रका संरक्षक परमपूज्यनीय गुरु लोसाङ नाम्ग्याल रिन्पोछेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रमुख अतिथि रिन्पोछेले कार्यपत्र प्रस्तोता र कार्यक्रममा सहभागीहरूलाई प्रशंसा पत्र र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बौद्ध जागरण केन्द्रका नुवाकोट ककनी शाखा, नुवाकोट विदुर शाखा, सिन्धुपाल्चोक सुनखानी शाखा, सिन्धुपाल्चोक सिसंखुपाखार शाखा, सिन्धुपाल्चोक ढाडे शाखा, रामेछाप शाखा, काभ्रे शाखा, मकवानपुर, ओखलढुङ्गा, लगायत गोरखा, धनकुटा, धादिङ, रसुवा दोलखा, चितवन र सर्लाहीबाट सहभागी भएका थिए ।