गोसाईंकुण्ड गाउँपालिकाले कोमिन श्यामेवाङफेल माविलाई बस हस्तान्तरण गरेको छ ।
मङ्गलवार गाउँपालिकाले स्याफ्रुबेशी बजारमा स्थानीयहरूमाझ एक कार्यक्रम गरी अध्यक्ष कैसाङनुर्पु तामाङ र उपाध्यक्ष प्रतिमा लामाले विद्यालय व्यवस्थापन समिति अध्यक्ष दावा मिङमार तामाङलाई बसको चाबी हस्तान्तरण गरेका हुन् ।
बसलाई बुद्धिस्ट र हिन्दु परम्परा अनुसार पूजापाठ गरी पालिका अध्यक्ष कैसाङ नुर्पु र उपाध्यक्ष प्रतिमा लामा सहितका सम्पूर्ण विद्यार्थीहरू बजारदेखि विद्यालयसम्म चढाएर उद्घाटन गरेका हुन ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ, उपाध्यक्ष प्रतिमा लामा, निमित्त प्रशासकीय प्रमुख कृष्ण बहादुर विक‚ बफरजोन अध्यक्ष तथा होटेल व्यवस्था समिति अध्यक्ष छोवाङ तामाङ‚ चिलिमे जलविद्युत कम्पनीका प्रतिनिधि‚ नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडका प्रबन्धक क्षोक्याल दोर्जे लामा, भुपु वडा अध्यक्ष सिङ्गी दिन्डुब तामाङ, नेपाल प्रहरीका प्रतिनिधि लगायत स्थानीयहरू र विद्यार्थीहरू उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले यो बस हाम्रो धेरै मेहनतबाट ल्याउन सफल भयो । तसर्थ सम्पूर्ण विद्यार्थी कर्मचारी लगायत चालकले सही रूपमा संरक्षण र सदुपयोग गर्न सुझाव दिए ।
त्यस्तै उपाध्यक्ष लामाले विगतमा हाम्रो जनतामाझ घोषणा गरेका निःशुल्क शिक्षा अन्तर्गतको निःशुल्क बस सञ्चालनमा ल्याएको बताइन् ।
उनले भनिन्‚ ‘यो हाम्रो प्रथम कार्यकालभित्र निःशुल्क पोसाक, निःशुल्क किताब कापी, निःशुल्क खाजा लयागतका विविध कार्यक्रमहरू ल्याएका छन् । बाँकी ४ वर्ष छन्‚त्यसभित्र पूर्ण रूपमा निःशुल्क शिक्षा शिक्षाको व्यवस्था हुनेछ ।’
विद्यालय भनेको समाज र राष्ट्रका मेरुदण्ड हुन् । भोलि समाज र राष्ट्र निर्माणमा आजको विद्यार्थीहरूको मुख्य भूमिका रहन्छ । तसर्थ सबै सरोकार पक्षहरू‚ विद्यालय व्यवस्थापन समिति, शिक्षक शिक्षिकाले गुणस्तरीय शिक्षामा जोड दिन अध्यक्ष तामाङले आग्रह गरे ।
विद्यालय गाउँको टुप्पोमा भएकाले बिहानै उकालो हिँडेर जानुपर्ने बाध्यता समाप्त भएको विद्यालय व्यवस्थापन अध्यक्ष छोवाङ तामाङ बताए ।