नसर्ने रोगका साथै मानसिक समस्याप्रति पूर्ण सावधानी अपनाउँदै जिल्लाबाट दिइने थप सेवाका विषयमा १२ बुँदे प्रतिबद्धता

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
154 Shares
रसुवा

नसर्ने रोगका साथै मानसिक समस्याप्रति पूर्ण सावधानी अपनाउँदै दैनिक जिवनयापनमा सहजता ल्याउन जिल्लाबाट दिइने थप सेवाका विषयमा १२ बुँदे प्रतिबद्धता जाहेर गरिएको छ ।

बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले तयार पारेको उक्त प्रतिबद्धतापत्रलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन यहाँका सरोकारवाला निकाय सामु स्वास्थ्य निर्देशक महेश्वर श्रेष्ठले मङ्गलवार सार्वजनिक गरिएको थियो ।

काठमाडौँस्थित स्वास्थ्य निर्देशनालय इपिडिमियोलोजी महाशाखा, जिल्ला स्वास्थ्य कार्यालय तथा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा कार्यक्रम गरिएको थियो ।

राष्ट्रिय मानसिक स्वास्थ्य सेवा सुदृढीकरणअन्तर्गत नसर्ने रोग रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्य योजनाका बारेमा स्थानीय सरकारलगायत सरोकारवाला निकायलाई जानकारी गराउन साउन १६ गते सदरमुकाम धुन्चेमा आयोजना गरिएको एक कार्यक्रममा उक्त प्रतिबद्धता गरिएको हो ।

स्वास्थ्यमा देखा पर्ने असरलाई मध्यनजर गरी प्लास्टिकजन्य फोहर खुल्ला ठाउँमा जलाउन नदिइने उल्लेख गरिएको छ । दूर दराजका ग्रमिण क्षेत्रमा स्वास्थ्य सेवा निरन्तर सन्तुलन राख्न स्वास्थ्य विशेषज्ञको रायसमेत लिई उक्त घोषणा गरिएकोले प्रतिबद्धता कार्यान्वयनमा तिनै तहका सरकारद्वारा पूर्ण रूपमा सहयोग मिल्नेमा आफू आशावादी रहेको निर्देशक श्रेष्ठले बताए ।

जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरे, उपप्रमुख विजय लामा, गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, उत्तरगया र कालिका गाउँपालिका उपाध्यक्षद्वय चमेली गुरुङ र मिरा तामाङ, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, गाउँपालिकाका प्रशासकीय अधिकारी एवं स्वास्थ्य इकाई प्रमुख, विज्ञ चिकित्सक एवं सञ्चारकर्मी समेतको सहभागितामा बागमती प्रदेशका स्वास्थ्य निर्देशक श्रेष्ठले प्रतिबद्धता पत्र घोषणा गरेसँगै कार्यान्वयन चरण अगाडि बढिसकेको स्वास्थ्य शाखा प्रमुख भीम सागर गुरागाईँले बताए ।

नसर्ने रोग एवं मानसिक रोग न्यूनीकरण गर्दै लान खानपिनमा सुधार गर्नुपर्ने, धूम्रपान एवं मादक पदार्थ सेवनलाई निरुत्साहित गर्ने , घरभित्रका धुवाँको न्यूनीकरणलगायत विविध कुरा प्रतिबद्धता पत्रमा उल्लेख गरिएको थियो । नसर्ने रोग रोकथामका लागि स्थानीय तहका निकायमा संस्थागत संरचना स्थापना गरी कार्यान्वयनमा लाइने बताइएको छ ।

सुर्तीजन्य र मादक पदार्थको विज्ञापन प्रवर्द्धन र प्रयोगमा पूर्ण रोक लगाइने, ट्राफिक प्रहरीबाट सवारी चालकको मापसे परीक्षण गराउने, विद्यालय नर्स कार्यक्रमलाई सरलीकरण गरिने, विद्यालयको खाजालाई प्राङ्गारिक बनाइनेजस्ता कुरा पनि प्रतिबद्धता पत्रमा उल्लेख थियो । स्थानीय स्तरको अस्पतालमा महिनाको एक पटक मानसिक रोगको विशेषज्ञ चिकित्सक सेवा दिइने र रसुवा अस्पतालको समन्वयमा ती अस्पतालमा औषधि आपूर्तिको व्यवस्था गराइनेसमेत बताइएको थियो । घरमा रहेका दीर्घ रोगी तथा अशक्तलाई घरघरमै गएर स्वास्थ्य परीक्षण एवं आवश्यक सामग्रीको व्यवस्थापन गरिने, बहुक्षेत्रीय कार्य योजनालाई सङ्घ प्रदेश र स्थानीय सरकारको सहकार्यबाट गाउँ स्वास्थ्य अभियान अगाडि बढाइने जनाइएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका