रसुवागढी जङगवहादुर राणाले हातहतियारसहित युद्ध लडेको डेढ सय वर्ष पुरानो ऐतिहासिक स्थल हो । रसुवागढी चीन भारत जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका हो । गढीमा श्री ३ भइसकेका जङबहादुर राणाले आफै युद्ध लडेका थिए ।
तेस्रो पटक भएको नेपाल–चीन युद्धको थापाथली सन्धिपछि निर्माण भएको यो गढी रसुवा–चीनको सिमाना, गोसाईंकुण्ड गाउँपालिका–२ खम्पाटारमा पर्दछ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित विसं १९१२ सालमा निर्माण भएको यही नाकाको नामबाट रसुवा जिल्लाको नामकरण भएको हो । तिब्बतीय भाषामा रसोवा भनिँदै आएको यस जिल्लाको अपभ्रंश भई रसुवा भएको हो। यहाँ ‘रु’ को अर्थ ‘भेडा च्याङ्ग्रा’ र ‘सोवा’ को अर्थ ‘चराउने वा राख्ने ठाउँ’ भन्ने बुझिन्छ ।
बायाँतर्फ केरुङ र दायाँतर्फबाट आएको लिङ्देखोलाको दोभान अर्थात् सङ्गम रहेको यस थलो पर्यटकीय, सांस्कृतिक तथा आर्थिक नाकाको रूपमा पनि परिचित छन् । रसुवागढी निर्माण हुँदा यहाँ मुख्यतः ३ गढीहरू रहेका थिए । एउटा फौजीका लागि दोस्रो कमान्डरका लागि र अर्को चाहिँ तोपखाना गढी निर्माण भएको थियो । विसं २०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण पुराना संरचना ध्वस्त भएर हाल नयाँ निर्माण भएको छ ।
नेपालकी विभूति भृकुटी (लिच्छवि शासक अंशुवर्माकी छोरी) चीनका शासक स्रोङचोङ गोम्पोसँग विवाह गरेपछि यस नाकासँगको सम्बन्ध अझै बिस्तारै हुँदै गएको हो । भृकुटी यही बाटोबाट घर–माइती गर्थिन् । पहिलो पटक भृकुटी चीन जाँदा थुमनस्थित मालागढीबाट गएकी थिएन भनिएको छ । अंशुवर्माले तिब्बतसँग सम्बन्ध दरिलो बनाउन छोरी भृकुटीको विवाह स्रोङचोङसँग गरिदिएका थिए ।
प्रसिद्ध कलाकार तथा विभूति अरनिको पनि यही बाटोबाट आवतजावत गर्ने गरेको ऐतिहासिक तथ्यहरू छन् । उनले राजा अभय मल्लको पालामा यही बाटोबाट चीन गएर आफ्नो वास्तुकला देखाएका थिए । प्यागोडा शैलीको मन्दिर निर्माण गर्ने दक्ष कलाकारका रूपमा उनले ख्याति कमाएका थिए । यस गढीमा २ वटा पुराना शिलालेख रहेकोमा एउटा पुरानो चाहिँ फुटेको र एक शिलालेख हालसम्म पनि रहेको छ । गढी निर्माण भएसँगै गढीमाई र गणेशको मन्दिर पनि रहेको छ ।
राजा पृथ्वीनारायण शाहको पालामा भएको पहिलो नेपाल९चीन युद्धमा नेपाली पुर्खाहरू चिनियाँ फौजसँग लडेर जित्दै केरुङ–कुतीसम्म आफ्नो किल्ला जमाएका थिए र त्यबेला केरुङ सन्धि भएको थियो । पछि बहादुर शाहको पालामा दोस्रो पटक चिनियाँ फौजसँग युद्ध हुँदा नेपालले केही भूभाग गुमाउँदै बेत्रावती सन्धि गरेर सिमाना बेत्रावती बनायो ।