गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चे तत्कालीन विजयपुर गाविस हाल मौजा गाउँपालिका वडा नम्बर ७ कास्की पोखरामा जन्मिएका थिए‚ तिरबहादुर गुरुङ । उनी हाईल्याण्ड आवासीय माध्यमिक विद्यालयका संस्थापक अध्यक्ष हुन् । गुरुङ २००६ साल मङ्सिर ७ गते पिता खड्गबहादुर गुरुङ र माता चन्द्रकुमारी गुरुङको कोखबाट जन्मिएका गुरुङ विएस्सीसम्मको अध्ययन गर्नुभएको छ ।
उहाँले बोगटिटारमा रहेको नीलकण्ठ मावि र रसुवा माविमा धेरै वर्ष अध्यापन गर्नुभई २०५३ सालमा निजी बोर्डिङ हाईल्याण्ड आवासीय मावि स्थापना गर्नु भएको थियो । शिक्षक तथा बोर्डिङ स्कुलका संस्थापक अध्यक्ष गुरुङसँग सरस्वती न्यौपानेले गरिएको कुराकानीको सम्पादित अंश :
तपाई शिक्षण पेसामा आउनुको उद्देश्य के हो ?
विएस्सी लगतै विद्यालयमा काम गर्ने मौका मिल्यो र त्यसपछि अध्यापन कार्यमै लागिरहे ।
शिक्षण पेसासँगै शिक्षण संस्थाको स्थापना गर्नुभएको कति भयो ?
मैले शिक्षण पेसा गरेको ६० वर्ष पुग्यो र निजी लगानीमा स्कुल स्थापना गरेको चाहिँ २६ वर्ष भयो ।
हाईल्याण्ड आवासीय माविमा हाल कति जना विद्यार्थीी अध्ययन गरिरहेका छन् ?
हाल यस विद्यालयमा ४ सय ६१ जना विद्यार्थीहरू रहेका छन् ।
यस बोर्डिङ स्कुलबाट अध्ययन गरेर गएका विद्यार्थीीहरूले के कस्ता प्रगति गरेका छन् ?
कोही विद्यार्थी डाक्टर‚ कोही इन्जिनियर‚ कोही नर्स‚ कोही बैकका मेनेजर र कोही विभिन्न सङ्घसंस्थाहरूमा कार्यरत छन् । कोही विद्यार्थीहरू उच्च शिक्षा अध्ययनमै छन् ।
तपाईँको पारिवारिक पृष्ठभूमिलाई हेर्दा कोही पनि शिक्षण पेसामा देखिएन तर तपाई चाहिँ यतातिर लाग्नुभयो । कसरी ?
हाम्रो गुरुङ जातिमा उति बेला ब्रिटिस आर्मी वा इन्डियन आर्मीमा भर्ती हुने चलन थियो । सबै लाहुरे मात्रै बन्ने । तर म चाहिँ होचो कदको हाइट नपुगेर भर्ती हुन सकिएन । पढाइ सँगसँगै विद्यालयमा काम गर्ने मौका मिल्यो । म पढाइमा अब्बल थिए । हाइट नभए पनि पढाउनु त सक्छु भन्ने अठोटसाथ यतातिर लागे । त्यसैले नै मैले शिक्षण पेसा रोजे र आज यो सफलता मिल्यो ।
कहिलेकाँही यो शिक्षण पेसामा बेकारमा लागे जस्तो महसुस भएन ?
लाग्दैन। किनकि आफ्नो अनुभव भएको पेसा पनि भए । र यसैमा रमाउन सिके । त्यसैको नतिजा नै आज यो शिक्षण संस्था खोल्न सके । यसैमा खुसी छु ।
तपाई पढाएका विद्यार्थीहरू नेतादेखि इन्जिनियरसम्म बने होलान् । यसमा तपाई सन्तुष्ट हुनुहुन्छ ?
एकदमै खुसी लाग्छ। मैले यो क्षेत्रमा गरेका योगदानको कदर र सफलता भएको महसुस हुन्छ।
तपाई यो स्कुलको संस्थापक हुनुहुन्छ । संस्थापकको हैसियतले पहिलेको शिक्षा र अहिलेको शिक्षामा के फरक छ ?
खासै फरक देखिँदैन ।
अन्तमा‚ यहाँको मनमा लागेको कुरा केही छन् कि ?
किताबी पढाइ कम र जीवनोपयोगी व्यवहारिक शिक्षा बढी हुनुपर्ने लाग्छ । किताबका पानाहरू घोक्ने र पुस्तकबाट प्रश्नहरू सोधिन अनि उत्तर लेखेर प्राप्त गरेको प्रमाणपत्रहरूले विद्यार्थीलाई व्यवहारिक ज्ञानको कमीले गर्दा बदलिँदो विश्वमा टिक्न नसकी शैक्षिक बेरोजगार बन्न बाध्य हुन सक्छन् कि भन्ने लाग्छ ।