बाध्यताको रक्तिम लालीले छोपेका
कलेटी परेका उसका ओठहरू
स्वार्थको कलुसीत पाउडरले ढाकिएका
कहिल्यै नमेटिने चायाँ पोतो जस्तै चोटहरू
चिन्तै चिन्ताले अनिद्रा आँखाका
वरिपरि बसेका निला धर्साहरू ।
हिम्मतका बाँधले रोक्दै छे
गङ्गा सागरबाट बर्सिएका वर्र्षाहरु
अर्कै सजिँदै छे सपनाको कृत्रिम क्रिमले
छर्दै छे मरुभूमिमा स्वाभिमानका बीउ अरू ।
फाटेका कुर्कुच्चा, गलेको मस्तिष्क खियाउँदै
पित्तललाई सुन बनाउन बजार्दै छे पाखुराहरू ।
यार्सागुम्बा जस्तै बदली राख्छे आफूलाई
गृह, अर्थ र विज्ञ सबैको आवश्यकता बनी ।
लम्किरहन्छे निरन्तर गन्तव्यतिर
थेग्नै नसक्ने पिडाको भारी बोकेर पनि ।
काँडै बिचमा पनि फुल्दै छे सुवास मिठा छर्दै
सकिँदै छे आफू मैन जस्तै जली जली ।
आँसी मेटाइ पूर्णिमा मात्र छाउँछु भन्छे
चम्किँदै छ जुन बादल भित्रै बलि
कस्तो निर्दयी ग्रहण पनि उसैमा लाग्नुपर्ने
एउटै उपमा हो मानवी ,जितेर पनि हार्नुपर्ने ।
आकाशै भरी इन्द्रेणी छर्दै धर्ती रङ्गाउँछु भन्छे
के थाहा उसलाई जन्मिँदै आफ्नो पखेटा काटिएका ।
सपनाको महलभित्र नाचिरहेका चाहहरू
बिचरीले पत्तै पाइनन् पिँजडाभित्र साटिएका ।