तामाङ जातिको फूपुचेला–मामाचेली विवाह संस्कारबारे उत्पन्न भ्रम, विवाद र वास्तविकता

फुपुचेला-मामाचेली विवाह संस्कार वा पद्धति

3.1k Shares
काठमाडौं

विगत केही दिन अघि प्राइम टेलिभिजनमा प्रसारित चिया गफ टक शोमा ‘शितल’ भनिने अधिवक्ता ‘भगवती पाण्डे’ ले तामाङ, मगर लगायत आदिवासी जनजाति समुदायको प्रथाजनित विवाह संस्कार वा पद्धतिको अभ्यासप्रति गलत ढङ्गले व्याख्या गर्नुको साथै आनुवंशिक रूपमा नै समस्त समुदायलाई अपराधीकरण गर्ने र मान्छेलाई जनावरसँग तुलना गर्ने गरी दिएको कपोलकल्पित, भ्रामक र तथ्यहीन अभिव्यक्ति पश्चात् तामाङ जातिमा विशेष त फूपुचेला–मामाचेली विवाह संस्कार वा पद्धति बारे बहस र विवादहरू भइरहेका छन् ।

त्यति मात्रै होइनन् मुलुकमा त्यो विषयले अहिले कतिपय राज्य संयन्त्रमा प्रायः हिंस्रक जनवारहरूले मात्रै पो नेतृत्व गरिरहेका छन् कि क्या हो जस्तो भान पीडित समुदायलाई भइरहेका छन् । राजनीतिक तथा सामाजिक माहौल तातिरहेको छ, अशान्ति हुँदै गइरहेका छन् । सर्वप्रथम त उनीले समयमा नै उक्त गलत भनाई बोलेकोमा माफी माग्नुपर्थ्यो तर त्यो गरिएन । जब सो समुदायहरूले कानुन बमोजिम मुद्दा दर्ता गरे त्यसपछि उनीले ढिलो गर्दै शब्दमा कन्जुस्याइँ गरेर गल्तीको महसुस गरे । तत्पश्चात् राज्य संयन्त्रले उनीलाई तत्काल पक्राउ गर्न ढिला गरे ।

त्यसपछि कानुन अनुसार उनीलाई अविलम्ब पक्राउ गर कानुनको प्रक्रियाअनुसार उनीलाई कारबाही अघि बढाउ भन्ने मागसहित उक्त समुदायहरूले सम्बन्धित निकाय अगाडी शान्तिपूर्ण धर्ना दिए । त्यस धर्ना कार्यक्रममा एक्कासि प्रहरीको अनावश्यक बल प्रयोग गरी व्यापक धरपकड हुँदा भीड अनियन्त्रित भई झडपमा परिणत भयो । त्यसपछि प्रहरीले अमानवीय शैलीमा शान्तिपूर्ण धर्नाकारीहरूलाई नियन्त्रणमा लिँदै अश्रुग्याँस, लाठी, रड, बुट प्रयोग गरी एक दर्जन भन्दा बढी महिला तथा पुरुष अभियन्ताहरूलाई चरम यातना दिइयो । साथै सुन्न, भन्न र लेख्न नसकिने शब्द प्रयोग गरी टाउको जीउ हातखुट्टा, महिलाको संवेदनशील अङ्गहरूमा घाउ चोट हुने गरी पिटिए । जुन दोषी छ त्यसलाई केही नगर्ने तर जसलाई पक्राउ गर भनेर शान्तिपूर्ण रूपमा माग राख्न आएका पीडित समुदायहरूलाई नै उल्टै नियन्त्रणमा लिइसकेपछि यसरी यातना दिने, धरपकड गर्ने, कस्टडीमा राख्ने नियम विश्वमा कुनै पनि मुलुकमा छैन । त्यसै सिलसिलामा यस पङ्क्तिकार लगायत पाँच जना अभियन्ताहरू पनि एक रात प्रहरी हिरासतमा बसेर यी माथि उल्लेखित सबै कुराहरू नियाल्ने मौका पाएको अवगत गराउँदै फेरि विषय तिर नै फकिर्नु चाहन्छु ।

उनीले ‘तामाङ तथा मगर समुदायमा दाजु बहिनी विवाह हुँदो रहेछ…’ भनेर जुन अभिव्यक्ति दिनुभयो त्यो त सरासर शतप्रतिशत गलत छ नै । यदि उनीले ‘फुपुचेला–मामाचेलीको बिचमा विवाह गर्दो रहेछ..’ भनेर भनेको भए पनि शतप्रतिशत गलत नै हुन्थ्यो । किनकि तामाङ समुदायको परम्परागत प्रथाजनित विवाह संस्कार वा पद्धति आजसम्म पनि वैज्ञानिक र आनुबांशिक रूपमा सही साबित हुन्छ । तामाङ जातिमा आमाबाट दूध र बुबाबाट ‘ह्रुई वा थर वा हाड वा वंश’ छोराछोरीमा सरेर जान्छन् भन्ने विश्वास छ । जसलाई तामाङ जातिको परम्परागत वंशको सिद्धान्त भन्ने गरिन्छ । त्यसलाई “ह्रुई प्रथा” पनि भनिन्छ । त्यसै कारण तामाङ चेलीको विवाह पश्चात् पनि थर परिवर्तन हुन्न । सर्वप्रथम त विवाहको अर्थबाट यस प्रथाको पुष्टि गरौँ ।

आफ्नै फुपू मामा भन्दा अरू फुपू–मामा नाता पर्ने कुटुम्बका छोराछोरीहरूसँग विवाह गर्नुपरेमा आफ्नो मामा–फुपूको छोराछोरीको आदेश वा मन्जुरी नै चाहिन्थ्यो । यदि आदेश वा मन्जुरी बेगर अन्यसँग विवाह गरेको खण्डमा जारी समेत तिराउने, तिर्नुपर्ने चलन थियो । तर आजकल भने त्यस्तो कडा नियम पाइँदैन तामाङ समुदायमा ।

विवाहको अर्थ :

विवाह संस्कारको उत्पत्ति र विकास बारे मानव शास्त्री ‘मोर्गान’ ले मानव समाजको उद्विकासको व्याख्या गर्ने क्रममा समाज विकासका विभिन्न तहहरू बताएका छन् । त्यही तहहरू अनुसार विवाहको सुरुवात एवं विकास पनि विभिन्न चरणहरू पार गर्दै आजको अवस्थामा आइपुगेको कुरा बताएका छन् । विवाहको सुरुवातको प्रथम चरण ‘रक्त सम्बन्धमा आधारित विवाह’ लाई मान्ने गरिन्थ्यो । यस व्यवस्थामा एउटै रक्त सम्बन्ध भित्र अर्थात् हाड नाता सम्बन्ध भित्रका सदस्यहरू बिचमा नै यौन सम्बन्ध कायम हुने गर्दथ्र्यो । यस अवस्थामा मानिसहरू भावनात्मक एवं कुनै सङ्गठनात्मक एकतामा बाँधिन सक्ने भइसकेका थिएनन् । त्यसैले त्यो बेला विवाहका लागि कुनै नाता वा कुटुम्ब, थर/हु्रई/हाड/वंश, गोत्र आदि पहिचान गरिँदैन थियो । अर्थात् त्यस व्यवस्थाको विकास भएको थिएनन् । मानिसहरू जङ्गली अवस्थामा नै थिए । जङ्गली अवस्थाबाट घर व्यवहारमा आएपछि मान्छेले आफ्ना पाशविक व्यवहारमा परिमार्जन गर्दै लगेको आजको स्थिति हो । उबेला एउटै महिलामा धेरै जना पुरुषको तानातान वा एउटै पुरुषमा धेरै जना महिलाको आशक्ति हुन्थ्यो । त्यस्तो बेला समाज विकृत, अराजक र अशान्ति बन्यो । त्यसैले समाजलाई अराजक हुनबाट जोगाउन निश्चित पुरुष र स्त्रीका लागि निश्चित पुरुष र स्त्री तोक्नुपर्ने आवश्यकता देखा पर्‍यो । यसरी तोक्ने कार्य नै पछि गएर एउटा संस्कारमा परिणत भयो र त्यसैलाई नै ‘विवाह’ भनियो । यसरी विकसित बन्न पुगेको विवाह संस्कारले समूह विवाह, अस्थायी प्रकृतिको विवाह, पितृ प्रधान विवाह हुँदै एकलगामी विवाह अथवा निजी लोग्ने र निजी स्वास्नीको अवधारणा ल्यायो र समाजलाई विकृत हुनबाट जोगायो । सैद्धान्तिक हिसाबमा विवाह संस्कार यसरी नै विकसित भयो । खासमा विवाह पूर्व पनि यौन सम्बन्ध त हुने गर्दथ्यो नै तर विवाह भित्र यौन सम्बन्ध, सन्तान उत्पादन र सृष्टि वा वंशलाई निरन्तरता दिने कार्यलाई नै अत्यावश्यक चीजमा स्वीकारेको पाइयो । यसलाई व्यवस्थित गर्नका लागि भने अनेक परम्पराहरू, प्रचलन, रीतिथिति, संस्कार संस्कृति र नीति नियम कानुन विकसित बन्न पुगे । यस्ता परम्पराहरू जाति, धर्म, क्षेत्र, स्थान अनुसार पनि फरक फरक ढङ्गले विकसित बन्न पुगेका छन् ।

त्यसो त विवाह समाज निर्माण र मानव जीवन तथा मानव सभ्यताको सामाजिकीकरण हुँदै जाने प्रक्रियाको एउटा रूप पनि हो । सामाजिक प्राणी मानिसहरूले विवाहलाई सामाजिक संस्कारहरू मध्येको एक महत्त्वपूर्ण संस्कारको रूपमा लिइन्छ । साथसाथै विवाहलाई समाजको एउटा महत्त्वपूर्ण संस्था पनि । विवाहलाई परापूर्व काल देखि नै मानव जीवन र सृष्टि वा वंशलाई निरन्तरता दिने, वंश परम्परा कायम राख्ने पद्धतिको रूपमा मान्दै आइरहेको पाइन्छ । सामान्यतया महिला र पुरुषलाई पतिपत्नीको रूपमा समाजले मान्यता दिनुलाई नै विवाह भनिन्छ । त्यसो हुँदा वैवाहिक सम्बन्धबाट महिलाले पुरुषमाथि र पुरुषले महिला माथि वैधानिक तथा सामाजिक अधिकार प्राप्त गर्नुको साथै यौन सम्बन्ध राख्ने तथा सन्तानोत्पादनका लागि सामाजिक मान्यता पनि प्राप्त गर्दछ । अर्को विवाहलाई सामाजिक बन्धनका रूपमा पनि लिइन्छ । किनकि यसले दुई थर/ह्रुई (हाड)/वंश का सदस्यहरूलाई एक सूत्रमा बाँध्ने काम पनि गर्दछ भने यसबाट नयाँ जीवन र नयाँ घरपरिवार तथा नाता सम्बन्धको निर्माण एवं परिवारहरूको बिचमा सदस्यको साटफेर र भावनात्मक ऐक्यबद्धताको सिर्जना गरी अनुमोदनको प्रतिनिधित्व गर्दै आएको हुन्छ । त्यसो त मनुस्मृतिले विवाहलाई ‘दुई आत्मा बिचको पवित्र मिलन’ पनि भनेको छ ।

फुपुचेला-मामाचेली विवाह संस्कार वा पद्धति  :

विभिन्न समुदाय वा जाति अनुसार विवाहको स्वरूप र विवाह गर्ने तरिका फरक फरक पाउन सकिन्छ । तामाङ समुदायले पनि विवाहका विभिन्न संस्कार तथा पद्धतिहरू मान्दै आइरहेका छन् । विशेषतः तामाङ समाजमा प्रचलित विवाहलाई विभिन्न किसिमका विवाह पद्धतिहरूमा विभाजन गरिएका हुन्छन् । फुपुचेला–मामाचेली/फुपूचेली–मामाचेला विवाह, भागी विवाह, मागी विवाह, प्रेम विवाह, चोरी विवाह, जारी विवाह, बिधुवा विवाह आदि आदि । तर यी विवाहहरूमध्ये कुन विवाह पद्धतिलाई अपनाउने भन्ने कुरा सामान्यतया पारिवारिक परम्परा (रीतिथिति, धर्म, संस्कार–संस्कृति) परिवाको सामाजिक, राजनीतिक प्रतिष्ठा, आर्थिक सम्पन्नता आदिमा भर पर्दछ । आजभोलि विवाहलाई परम्पराले भन्दा पनि आर्थिक, सामाजिक एवं राजनीतिक स्वार्थले समेत निर्देशित गरेको पाइन्छ । जस्तोसुकै पद्धति अवलम्बन गरे तापनि विवाह सम्पन्न भएपछि त्यसको प्रतिष्ठा र मान्यतामा कमी वा बेसी मानिँदैन ।

यहाँ हामी नेपालका आदिवासी जनजाति तामाङ समुदायमा फुपुचेला–मामाचेली विवाह सम्बन्धमा चर्चा गर्दै छौ । तामाङ जातिमा इतिहास देखिनै आफ्नो दिदीबहिनीको छोरीलाई आफ्नो दाजुभाइको छोरासँग र दाजुभाइको छोरीलाई दिदीबहिनीको छोरासँग विवाह गरिदिन्छन्, यसैलाई मामाचेला–फुपुचेली वा फुपुचेला–मामाचेली विवाह पद्धति वा संस्कार वा रीतिथिति भनिन्छ । यस पद्धतिमा मामाका छोराछोरी फुपूका छोराछोरी एक अर्कामा विवाहयोग्य साथी वा जोडी मानिन्छन् । उनीहरूको विवाह हुनुभन्दा अघिको साइनो ‘सोल्टी र सोल्टिनी’ को हुन्छ । कतिसम्म भने फुपूचेला–मामाचेलीको छोराछोरी बिचमा विवाह गर्ने पहिलो हक वा अधिकार नै फुपू मामा चेलाचेलीको लाग्ने गर्थ्यो पहिला पहिला । आफ्नै फुपू मामा भन्दा अरू फुपू–मामा नाता पर्ने कुटुम्बका छोराछोरीहरूसँग विवाह गर्नुपरेमा आफ्नो मामा–फुपूको छोराछोरीको आदेश वा मन्जुरी नै चाहिन्थ्यो । यदि आदेश वा मन्जुरी बेगर अन्यसँग विवाह गरेको खण्डमा जारी समेत तिराउने, तिर्नुपर्ने चलन थियो । तर आजकल भने त्यस्तो कडा नियम पाइँदैन तामाङ समुदायमा । त्यस्तै चलन आदिवासी जनजातिभित्रका गुरुङ, थकाली, मगर जातिहरूमा पनि पाइन्छ र अझै छन् ।

तामाङ जातिमा विवाहको लागि पहिलो प्राथमिकता आफ्नो साखै मामा-फुपूको छोराछोरीलाई दिने गरिन्छ । हाल मामा–फुपू चेलाचेली नाता सम्बन्ध भन्दा बाहिरका अर्थात् फुपू पुगेको फुपाज्यूको दाजुभाइका छोराछोरी या मामाका थरका अन्य दाजुभाइका छोराछोरी बिच पनि विवाह गर्ने प्रचलन व्यापक रूपमा चलिरहेको छ । अर्को कुरा तामाङ जातिमा आफ्नै फुपुमामाको छोराछोरी विवाह भएमा साँच्चिकै ‘आनी र आसेङ’ होइन्छ तर आफ्नो भन्दा अन्य फूपुमामाको छोराछोरी बिचमा विवाह भएमा पनि सासू ससुरालाई ‘आसेङ आनी’ साइनो नै लगाइन्छ । किनभने फुपू र माइजू दुवै नातालाई तामाङ भाषामा ‘आनी वा आङी” भनिन्छ भने मामा र फुपाजु दुवै नातालाई ‘आसेङ’ भन्दछन् । समाजशास्त्र अनुसार विवाह संस्थालाई निरन्तर दिन विवाह गर्न योग्य नाता भनेको तामाङ समाजमा ‘आनी र आसेङ’को छोराछोरी नै हो । अन्य जातीय समुदायमा त्यस्तो विवाह गर्नको लागि योग्य नाता किटान गरिएको पाइँदैनन् ।

तामाङ जातिमा ‘ह्रुई परम्परा’ हुन्छ । जुन परम्परा अनुसार तामाङ जातिको छोराछोरीमा आमाबाट विशेष त दूध र बाबुबाट ‘ह्रुई’।थार।हाड।वंश सर्छ भन्ने विश्वास छ । यसलाई तामाङ जातिको परम्परागत वंशको सिद्धान्त पनि भन्ने गरिन्छ ।

स्मरण होस तामाङ जातिमा ‘थर’ लाई ‘ह्रुई वा वंश’ भनिन्छ भने मान्छेको शरीरमा भएको ‘हाड’ लाई चाहिँ ‘थर वा ह्रुई वा वंश’ को प्रतीकको रूपमा लिन्छन् । त्यसो हुँदा तामाङ जातिमा थर, ह्रुई, हाड, वंशलाई एकै अर्थको रूपमा लिन्छन् ।

तामाङ समाजमा हाड नाता भनेको बुबाको थरलाई भनिन्छ भने दूध नाता भनेको आमाको थरलाई भन्ने हो । तामाङ जातिमा हाड नातामा विवाह निषेध वा वर्जित छ । त्यस्तै गरी बुबाको थर अर्कै भए पनि विवाह गर्न आटेको केटीको आमा र केटाको आमाको थर एउटै भएमा विवाह वर्जित हुन्छ। त्यस्तो नातालाई आमाथेत्माई भन्दछन् र आमाथेत्माईला कोला (बच्चा) एउटै ङ्हे (दूध) तोइबा÷थुङ्बा (खाने) भन्दछन् । एउटै थरको दूध खाएको कारणले तामाङ जातिमा दूधको बारन गर्दछ । त्यस कारण तामाङ समुदायमा फुपुचेला मामाचेली अथवा मामाचेला फुपुचेली विवाह भनेको परापूर्वकाल देखि चलिआएको ओरिजिनल असली कुटुम्बरी विवाह गर्ने नाता हो । यसलाई विवाह गर्न हुने अधिकारीका नाता सम्बन्ध अर्थात् कुटुम्ब पनि मानिन्छन् । यो नाता सबैभन्दा शुद्ध अनि पवित्र विवाह सम्बन्ध चल्ने नाता कुटुम्बारी हो । किनभने यसमा न बुबाको ह्रुई वा थर वा हाड वा वंश एउटै हुन्छ न विवाह गर्न आटेको केटा र केटीको आमाको दूध एउटै हुन्छ । तामाङ जातिको विवाह गर्ने नाताको केटी वा केटाले आमाको दूध एउटै थरको खाएको हुनुभएन, बुबाको थर एउटै हुनुभएन र स्वाँगे थरहरू हुनुभएन बाँकी सबै तामाङ थर नातासँग विवाह गर्न पाइन्छ । त्यसो हुँदा तामाङ जातिमा तीन नातामा विवाह निषेध वा वर्जित छ । जुन नाताको वर्णन यस प्रकार छन् ।

१. हाड नाता
२. आमाथेत्माई÷दूध नाता
३. स्वाँगे थर नाता

हाड नाता : बुबाको थरलाई हाड नाता भनिन्छ । जस्तो बुबा मोक्तान थर भए मोक्तान थरको छोराछोरीले संसारको जुनसुकै ठाउँको मोक्तान थरसँग विवाह गर्नु हुन्न र जति नै पुस्तान्तर भए पनि विवाह गर्न बन्देज वा मनाही हुन्छ र छ । तिनीहरू बिचमा दाजुभाइ दिदीबहिनीको नाता पर्दछ ।

आमाथेत्माई/दूध नाता : त्यस्तै बुबाको थर अर्काअर्कै भए पनि विवाह गर्न आटेको केटीको आमा र केटाको आमाको थर एउटै भएमा त्यसलाई आमाथेत्माई÷दूध नाता भनिन्छ । अर्थात् आमाको थर एउटैलाई आमाथेत्माई÷दूध नाता भनिन्छ । जस्तो केटाको थर मोक्तान तर उसको आमाको थर स्याङबो भएमा संसारको जुनसुकै ठाउँको मोक्तान थरभन्दा फरक बुबा भएता पनि स्याङबो थरको आमाको कोखबाट जन्मेको केटी मान्छेहरुसँग उसको विवाह हुन्न । आमाथेत्माइ दाजुभाइ दिदीबहिनी नाता पर्दछ ।

स्वाँगे थर नाता : त्यस्तै गरी स्वाँगे थरहरू नातामा पनि विवाह निषेध वा वर्जित छ । तामाङ जातिमा प्रायः सबै थरहरूको दुई वा दुई भन्दा धेरै स्वाँगे थरहरू हुन्छन्, त्यस्ता स्वाँगे थरहरूमा विवाह हुन्न । जस्तो उदाहरणको लागि गोले थरले गोले, तितुङ, दोङ, बल, बज्यु, डिम्दुङ, गाङतान, स्योङतान, गोपो, माम्बा लगायत १२ थर बिचमा विवाह गर्दैनन् गर्नुहुन्न ।

नेपाल तामाङ घेदुङको सङ्घीय सचिव
मेलुङ–३, दोलखा, उलिर्नी, हाल काठमाडौँ, बौद्ध ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
5
+1
10
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका