दुवै मृगौला फेल भएका कलाकार रवि ब्लोन लामाको सहयोगार्थ कला प्रदर्शनी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
1141 Shares
काठमाडौं
पुलचोक विकल्प आर्ट सेन्टरस्थित कला प्रदर्शनी उद्घाटन समारोहमा कलाकार रवि ब्लोन लामा

दुवै मृगौला फेल भई झण्डै पाँच महिनादेखि उपचाररत कलाकार रवि ब्लोन लामाको उपचारमा सहयोगका लागि कला प्रदर्शनी सुरु गरिएको छ । शुक्रबार पुलचोकस्थित विकल्प आर्ट सेन्टरमा नेपालस्थित युनेस्को प्रमुख माइकल क्राफ्ट, सेन्टरका निर्देशक सरोज महत्तो, कलाकारहरु सुदर्शन विक्रम राणा, सुनिता राणा, सुन्दर लामा, कृष्ण लामा, मुकेश श्रेष्ठ लगायतकाको सहभागितामा कला प्रदर्शनी थालनी गरिएको हो । प्रदर्शनीमा राखिएका प्रकृति, मानव, धर्म, संस्कृति जस्ता विषयमा सिर्जना भएका डेढ दर्जनभन्दा बढी कलाकृतिहरु बिक्री भएको रकम लामाको उपचारका लागि प्रदान गरिनेछ ।


सर्लाही स्थायी घर भइ हाल स्वयम्भूस्थित सानो भर्‍याङमा बस्दै आएका लामा स्वयम्भूकै विजेश्वरी कलेजमा ललितकला अध्ययनरत छन् । कक्षा १२ को परीक्षा दिएर बसेका १९ वर्षिय लामा कला सिर्जनासँगै खेलकुदमा समेत निकै सक्रिय रहेको विजेश्वरीमा कला प्राध्यापन गरिरहेका कलाकार सरोज बज्राचार्यले बताए । ‘रवि मेरो विद्यार्थी हो । ऊ आर्ट र स्पोर्ट फुटबलमा निकै राम्रो छ’, उनले भने,‘त्यस्तै तीन महिनाअघि उ कलेज निकै समय आएन । पछि आउँदा उसको दुवै किड्नी फेल भएको थाहा भयो ।’ लामाको उपचारमा सहयोग होस् भन्ने हेतुले नै आफू लगायत अन्य कलाकारहरुले कला प्रदर्शनी गर्ने सोच बनाएको उनले सुनाए ।

लामाका अनुसार पाँच महिनाअघि डेंगु संक्रमणसँगै उच्च रक्तचावपछि दुवै मृगौला फेल भएको थियो । हाल वीर अस्पताल र चावहिलस्थित नेपाल भारत मैत्री अस्पतालमा उनको डायलिसिस क्रम जारी रहेको छ । मृगौला प्रत्यारोपण गरी पुनः कला सिर्जनामा फर्केर अगाडि बढ्ने उनको सपना छ । डाक्टरका अनुसार उनको मृगौला प्रत्यारोपण नेपालमा हुन सम्भव छैन । नेपाल बाहिर गएर प्रत्यारोपण गर्न उनको परिवारको आर्थिक स्थिति नभ्याउने लामाले सुनाए । उनले भने,‘मेरो उपचारको लागि बुबाले गाउँबाट जग्गा पनि बेच्नुभयो । तर उपचारका लागि पैसा पुगेन । परिवारभित्र र मामाले पनि किड्नी दिन नमिल्ने भएपछि नेपाल बाहिर नै जानुपर्छ रे । त्यसको लागि चाहिने त्यति धेरै पैसा हामीसँग छैन ।’

उनको उपचारका लागि कलाकारहरुकै तर्फबाट केही सहयोगका लागि कला प्रदर्शनीले सघाउ पुर्‍याउने कलाकार बज्राचार्यको आशा छ ।

उनको सहयोगका लागि केही चन्दा संकलनसँगै विभिन्न कलासम्बन्धी कार्यक्रमहरु पनि आयोजना गर्ने योजना सोचेको उनले सुनाए । कला क्षेत्रमा उर्जावान युवा र अन्य कलाकारलाई समेत विपत्त पर्दा आर्थिक रुपमा सहयोग पुर्‍याउने वातावरण बन्नुपर्ने उनको भनाई छ । यसका लागि कला र कलाकारको स्तर उन्नतिका लागि स्थापित कला संस्थाहरुले पहल गर्नुपर्ने उनले बताए । उनले सहयोगका लागि सबैसँग आग्रह समेत गरे । प्रदर्शनी कार्यक्रमप्रति निकै खुसी प्रकट गर्दै क्राफ्टले कलाले बनाएको एकता र समुदाय चेतलाई सम्मान प्रकट गरे । कलाकार लामाको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनी निकै भावुक भए ।

प्रदर्शनीमा प्रदीप श्रेष्ठ, रुद्र पुन, सुनिल सिग्देल, रीता मानन्धर, राजन पन्त, सौरगंगा दर्शनधारी, महिमा सिंह, शुषमा शाक्य, अनिल महर्जन लगायत ३२ जना कलाकारहरुका कलाकृतिहरु प्रदर्शनरत छन् ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका