एकलवादी सोचको नयाँ संस्करण

काठमाडौं

उनीहरूले घोषणा गरेका थिए, अधिवक्ता पाण्डेलाई गिरफ्तार गराउन दबाब स्वरूप एक घन्टे शान्तिपूर्ण धर्ना कार्यक्रम । साउन १७ गते आह्वान गरिएको धर्ना कार्यक्रममा सहभागी हुन तामाङ, मगरलगायतका विभिन्न सङ्घ संस्थाका सहभागीहरू टेकुमा पुगे । प्लेकार्ड, ब्यानर प्रदर्शन गरे । नारा लगाए । सहभागीको सङ्ख्या थपिँदै गयो । नारा चर्किँदै गयो । स्वाभाविक रूपमा यातायात आवागमनमा अवरोध सिर्जना भयो । प्रहरीलाई भीड तितरबितर गर्ने बहाना मिली हाल्यो । ठेलमठेल हुँदै जाँदा प्रहरीले लाठी चार्ज गर्‍यो । अश्रुग्याँस प्रहार गर्‍यो । भटाभट सहभागीहरूलाई पक्रेर कोच्ने बहादुरी देखाउन प्रहरीहरू प्रतिस्पर्धा नै गर्न थाले । कतिपय पत्रकारहरूलाई समेत बाँकी राखेनन् । कतिको टाउको फुट्यो । कतिको खुट्टाको हड्डी भाँचियो । कतिको पिँडौलाको मासु फुट्यो । समातिनेहरूको शरीरभरि प्रहरीले लाठी बर्साए । लाठी प्रहार गर्न नपाएको लामो समयदेखिको प्यास मेटाउन उद्यत झैँ देखिए । भीड लाखापाखा लागिसकेको थियो । केही बेरमा परपर सडक पेटीमा बसिरहेका र गन्तव्यमा फर्कन पाइला बढाइसकेकाहरूलाई समेत प्रहरीले जबरजस्ती पक्रेर लगे ।

पक्रेर महानगरीय प्रहरी परिसरभित्र थुनिसकेपछि पनि प्रहरी क्रूर रूपमा प्रस्तुत भए । कुनै युद्ध अपराधीलाई झैँ बर्बर यातना दिए । अपशब्द प्रयोग गर्दै गालीको वर्षा गराए । त्यतिखेर प्रहरीले गरेको दुर्व्यवहार र दिएको पीडासहित दृश्य वर्णन गर्दा शुक्रवार आयोजना गरिएको कार्यक्रममा धेरैको आँखा नै रसाए । थुनामा परेर घाइते भएकाहरूले एकस्वरमा भने, ‘हातहतियारसहित युद्धको होमिएको लडाकु या कुनै व्यवस्था विरोधी विद्रोहीलाई जस्तै प्रहरीले दुर्व्यवहार गर्‍यो ।’ अधिवक्ता भगवती पाण्डे (शीतल) को विवादास्पद अभिव्यक्तिबाट मर्माहत समुदायले न्यायको बदला प्रहरी दमन र यातना भोग्नुपर्‍यो ।

अधिवक्ता पाण्डेको विवादास्पद अभिव्यक्ति प्रकरण कुन रूपमा टुङ्गिने हो, हेर्न बाँकी छ । तर यसले सिर्जना गरेको पराकम्पन अझै थामिएको छैन । यसले उत्पन्न गरेको हलचल सामाजिक सञ्जाल र विभिन्न मिडियाहरूमा अझै प्रतिबिम्बित भइरहेकै छ । साउन ६  गते प्राइम टिभीको ‘चिया गफ’ नामको कार्यक्रममा उनले आधारहीन र तथ्यहीन अभिव्यक्ति दिएपछि तामाङ र मगर समुदाय यत्तिखेर आक्रोशित थिए । प्रहरी प्रशासनबाट भएको ज्यादतीले उनीहरूमा थप आक्रोश पैदा गरेको छ ।

‘नेपालका तामाङ र मगर समुदायमा आफ्नै दाजुबहिनीबीच विवाह हुन्छ । यसरी आफ्नै जिनबिच विवाह भएर जन्मेका बालबालिकाहरू आपराधिक प्रवृत्तिका हुन्छन् ।’ अन्तर्वार्तामा अधिवक्ता पाण्डेले बोलेका शब्दहरू यिनै हुन् । आफ्नै दाजुबहिनीबीच विवाह हुन्छ भन्ने भनाइ कुनै सत्यतामा आधारित थिएन । सार्वजनिक मिडियामा प्रस्तुत पाण्डेको तथ्यहीन वक्तव्य तामाङ र मगर समुदायलाई मुटुमै सुई रोपेसरह थियो । यसैले उनीहरूले यस्तो अभिव्यक्तिलाई अविलम्ब ठाडै अस्वीकार गरे । विभिन्न हिसाबले आपत्ति जनाए । अधिवक्ता पाण्डेले तत्क्षण आफ्नो धारणा सच्याउनुपर्ने, फिर्ता लिनुपर्ने र लिखित माफी माग्नुपर्ने माग अघि सारे ।

उनको अभिव्यक्ति कुनै पनि हालतमा स्वीकार्य थिएन । समुदायको स्वाभिमानमाथि नै आँच पुर्‍याउने तहकै थियो । हुँदै नभएको संस्कारको व्याख्या गर्दै सिङ्गो समुदायलाई नै आपराधिक प्रवृत्तिको करार गर्ने उनको अभिव्यक्ति घोर आपत्तिजनक र खेदजनक नै छ । यसले नेपालका तामाङ र मगर समुदायको आत्म स्वाभिमान र प्रतिष्ठामाथि चुनौती खडा गरिदियो । अधिवक्ता पाण्डेको अभिव्यक्तिले उनीहरूलाई नराम्रोसँग चोट पुर्‍यायो । यो चोटले उनीहरूको मुटु नै दुख्यो ।

समाजमा भगवती पाण्डेको जस्तै सोच र धारणा बोक्नेहरूको जमात अझै ठुलै छ । यस्तो जमातको आकार घटाउनेतर्फ सबैको प्रयास केन्द्रित हुनुपर्नेमा त्यसलाई मलजल गर्ने हर्कत देखिनु कसैका लागि प्रिय र हितकर हुने छैन । यो जातीय सद्भाव भड्काउने आधार बन्न सक्छ । जातीय सद्भाव कायम राख्ने ठेक्का एकाध समुदायको मात्रै हैन । समाजका सबै पक्ष यो विषयमा गम्भीर हुनु आवश्यक छ । सबैको एउटै चिन्ता हो, सानो झिल्कोले सिङ्गो जङ्गल सखाप पार्न सक्छ ।

तामाङ समुदायको आफ्नै खालको विशिष्ट वैवाहिक परम्परा छ । तामाङ समाजमा दुई खालको थरको व्यवस्था छ : सगोत्री (स्वाँगे) थर र कुटुम्बेरी थर । जतिसुकै पुस्ता फरक भए पनि, जतिसुकै परको भए पनि सगोत्रीभित्र बिहेवारि पूर्ण रूपमा बन्देज हुन्छ । एउटै थर या एउटै स्वाँगे समूहभित्रका भएमा सात समुद्र परको भए पनि माइती चेलीकै नाता, सम्बोधन र व्यवहार हुन्छ । यस कारण तामाङ समुदायमा एउटै थरभित्र मात्र नभएर कतिपय फरक थर बिच पनि बिहेवारि चल्दैन । विवाहपछि चेलीको थर परिवर्तन हुँदैन । उनी जीवनभर माइतीकै थरसहितको परिचयले बाँच्न पाउँछिन् । तर उनका सन्तानहरू भने पिताको थरबाट चिनिन्छन् । तामाङ समाजको संस्कारले उनीहरूलाई बिहेवारि चलाउन मिल्ने कुटुम्ब थरका रूपमा परिभाषित गरेको छ । माइती र चेलीका सन्तानहरू कुटुम्बेरी थरका रूपमा तामाङ समाजको संस्कारले स्वीकारेको छ । मामा चेला फूपूचेला बिच वैवाहिक सम्बन्ध गाँस्ने परम्परा सदियौँदेखि चलिआएको छ । अहिले उनीहरूको सम्बन्धलाई दाजुभाइको रूपमा लिनुपर्छ, विवाह गर्ने संस्कारलाई बहिष्कार गर्नुपर्छ भन्ने सोच क्रमशः सतहमा आइरहेको देखिन्छ । यो पनि हिन्दु संस्कार र दृष्टिकोणकै प्रभाव हो । तामाङ बुहारीहरूले सासूलाई ‘आमा’ (कतै कतै त आफ्नै थरकीलाई समेत), ससुरालाई बुबा, ससुराको दाइलाई ठूलाबुबा र भाइलाई काका, मामाका छोराका श्रीमतीलाई भाउजू र बुहारी सम्बोधन गर्नु हिन्दु संस्कारका प्रभावका केही उदाहरण हुन् ।

खासमा वैवाहिक संस्कारमा कायम विधिले तामाङ समाजमा थर व्यवस्थापन प्रणाली जोगिँदै आएको छ । अनि थरसम्बन्धी व्यवस्थापनले तामाङ समुदायको पृथक् संस्कृति स्थापित गरिआएको छ । यो उनीहरूको मौलिक परम्परा हो । यस खालको वैवाहिक मान्यतालाई तामाङ समाजले पुस्तौँदेखि जोगाउँदै ल्याएको छ । संस्कारगत मूल्य मान्यतालाई परिमार्जन गर्ने नगर्ने जिम्मा तामाङ समुदायकै हो । अन्य समुदायका कोही कसैले आफ्नो संस्कारसँग दाँजेर यस्तो उस्तो टिप्पणी गर्दै परिवर्तनका लागि प्रस्ताव राख्नु पूर्ण रूपमा हस्तक्षेपबाहेक केही होइन । त्यसो त हिन्दु एकलवादी सोच चिन्तनको प्रभाव सबैतिर देखिएकै छ । अधिवक्ता पाण्डे त एक जना प्रतिनिधि पात्र मात्र हुन् । यसकारण उनको अभिव्यक्ति पनि एकलवादी सोचको नयाँ संस्करण मात्रै हो ।

दाजुबहिनीबीच विवाह हुने उनको अभिव्यक्ति थियो । यद्यपि उनले आफूले फुपूचेली मामाचेला बिचको सन्तानलाई दाजुबहिनी मान्ने भएकाले अन्तर्वार्ताका क्रममा केही शब्द छुटेको प्रस्टीकरण दिएकी छिन् । ल भैगो, यसलाई पनि ठुलो ईस्यू नबनाऊँ रे । तर उनले त्योभन्दा पनि अझ डरलाग्दो आशय व्यक्त गरेकी थिइन् । एउटै जिन, रगतबाट जन्मी हुर्केका व्यक्तिहरू खतरनाक हुने, आपराधिक प्रवृत्तिका हुने, अरूको कुरा नसुन्ने र एकोहोरो प्रवृत्तिका हुने उद्घोष गरेकी छिन् । उनको भनाइ सरासर पत्याउने हो भने त नेपालका तामाङ र मगर समुदाय आपराधिक मूलका भए । नेपालमा हुने कतिपय अपराध र अपराधीको जरा यी समुदायभित्रबाट पलाएको हुने भयो । यति गम्भीर, आपत्तिजनक शब्दहरू बोलेर पनि यो विषयलाई उनले हलुका हिसाबले लिएको देखिन्छ । शब्दमा कुनै पनि जातीय सद्भाव भड्काउने आफ्नो आशय नभएको उनले जिकिर गरेपनि उनको भनाइको सार भने ठिक उल्टो थियो ।

उनी सामान्य नागरिक होइनन् । उनले नै दाबी गरेजस्तै १० वर्षभन्दा बढी कानुनी क्षेत्रमा वकालत गरिसकेकी स्थापित अधिवक्ता हुन् । जसलाई कानुनका जरा र फेदहरूबारे राम्रो हेक्का हुन्छ  । फेरि उनले दुई चार जनाको बिचमा आफ्नो धारणा राखेकी पनि होइनन् । राज्यको एउटा स्थापित मिडियामा खुल्लमखुल्ला निर्धक्क बोलेकी हुन् । जसको प्रभाव क्षणभरमा संसारभर फैलिन्छ । अध्येता, अनुसन्धानकर्ता दाबी गर्दै थाहै नभएको विषयमा बोलेको देखिन्छ ।

अझ मुलुकी अपराध (संहिता) ऐनलाई समेत आफ्नो जाति अनुकूल हुने गरी सच्याउनुपर्ने, फूपूचेला मामाचेलाबीचको वैवाहिक सम्बन्धलाई बन्देज लगाएर हाडनाता करणी अपराधको दायरामा ल्याउनुपर्नेसम्मको उनको आग्रह देखिन्छ । मुलुककै कानुनलाई एउटा जाति समुदायको संस्कारमा निहित दृष्टिकोण र दर्शनमा सीमित पारी व्यवस्था गर्ने र सोहीबमोजिम अन्य समुदायको संस्कार र परम्परालाई छाँटकाँट गर्नुपर्ने सोच निरङ्कुश दमनकारी सोच हो । यो त एकल जातीय अहङ्कार हो । यस खालको अभिव्यक्ति र आशय व्यक्त गर्नु अन्य समुदायप्रति सरासर अपमान हो । उनीहरूलाई चिढ्याउने कार्य हो ।

यसलाई सानातिना असावधानी मान्न सकिने स्थिति थिएन । सचेत तामाङ र मगर समुदायलाई सह्य हुने प्रसङ्ग थिएन । उनीहरूले विभिन्न तवरले आपत्ति जनाए । सुरुमा पाण्डेले भनाइ फिर्ता लिएर लिखित माफी माग्नुपर्ने उनीहरूको सामान्य माग थियो । उनले विभिन्न विद्वानहरूको हवाला दिँदै आफ्नो भनाइलाई पुष्टि गर्ने प्रयत्न गरिरहिन् । भएको गल्तीलाई समयमा सच्याउने तत्परता देखिएन । त्यसपछि तामाङ मगर समुदाय कानुनी रूपमा न्यायका लागि अग्रसर भए र टेकु प्रहरीमा जाहेरी बुझाए । प्रशासनबाट पनि आलटाल भइरहेको प्रस्ट देखिएपछि उनीहरू अधिवक्ता पाण्डेलाई तत्काल पक्राउ गरी कारबाही गर्न दबाबस्वरुप प्रदर्शनमा उत्रन बाध्य भए । तर प्रहरी प्रशासनले शान्तिपूर्ण धर्नामा उत्रिएका उनीहरूलाई पक्राउ गरी बर्बर यातना दिएर स्थितिलाई थप उत्तेजित बनाउने काम गर्‍यो । न्यायका लागि ढोका घच्घच्याउन पुगेकाहरूमाथि उल्टै ज्यादती भयो । अधिवक्ता पाण्डे पक्राउ परेको भनियो । एकाध घण्टा सोधपुछ गरेपछि थुनामा राख्न अदालतले अनुमति नदिएको भन्दै छाडियो । यसबाट फेरि पनि तामाङ मगर समुदाय आक्रोशित छन् ।

‘सैयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली’, ‘बहुल जाति भाषा, धर्म, संस्कृति छन् विशाल’ हाम्रो राष्ट्रगानका यी पङ्क्ति र शब्दहरू गाउन मात्र हैन, त्यसमा निहित भाव र मर्मलाई आत्मसात् गरी व्यवहारमा उतार्न हामीले स्वीकारेका हौँ । विविधतायुक्त नेपाली समाजमा विद्यमान फरक संस्कृति, फरक भाषा, फरक धर्म, फरक जीवनशैलीलाई स्विकार्न र सम्मान गर्न सक्दा मात्रै समग्र नेपाली संस्कृति र नेपालीपनको विशिष्टता कायम रहनेछ ।

फेरि कुनै कुनाबाट प्रचार गरिएको देखिन्छ, ‘तामाङ र मगर समुदाय जातीय द्वन्द्व निम्त्याउन उद्यत भए । तिललाई पहाड बनाउने कसरतमा लागे ।’ सिङ्गै समुदायलाई ‘आपराधिक प्रवृत्ति’ को संज्ञा दिने अभिव्यक्तिलाई सामान्य रूपमा लिइदिनु पर्ने हो र ? आफ्नो सभ्यता र संस्कृतिमाथि नै आँच पुग्ने अभिव्यक्ति आउँदा पनि प्रतिक्रियाविहीन मुर्दा बनिरहनुपर्ने हो र ? अझै पनि तामाङ मगर समुदायको माग छ, निज पाण्डेलाई विवादास्पद अभिव्यक्ति दिएबापत कानुनी रूपमा जे जति कारबाही गर्न मिल्छ सोहीबमोजिम गर्नू । यत्ति माग गर्दा, मुद्दा दर्ता हुँदा पनि बेखबर झैँ बसेका प्रहरी प्रशासनलाई घच्घच्याउँदा उपद्रो भयो ? आफ्नो अभिव्यक्ति सच्याउन अधिवक्ता पाण्डे पटक्कै तयार नहुनु, यत्तिका दिन बित्दा पनि कारबाहीका लागि प्रशासनिक तदारुकता नदेखिनु, उल्टै पीडित समुदायमाथि हिंस्रक ढङ्गले प्रहरीहरू उच्च मनोबलका साथ उत्रनु र उतार्नुले राज्य प्रशासनमाथि नै अनेक प्रश्नहरू उठ्न थालेका छन् ।

परिस्थिति अझै भड्किएको छैन । न्यायप्रशासनप्रतिको विश्वास र भरोसा टुटिसकेको छैन । न्यायप्रतिको विश्वास भत्क्यो भने त्यसले निम्त्याउने विध्वंस कस्तो हुन्छ भन्ने दृष्टान्त सबैलाई थाहै छ । कुनै पनि बहानामा विलम्ब नगरी अधिवक्ता पाण्डेलाई न्यायको कठघरामा उभ्याएर आवश्यक प्रक्रिया अघि बढाउँदा नै सबैका लागि श्रेयस्कर हुनेछ । भनिरहनु पर्दैन, ढिला गरी न्याय दिनु पनि न्याय नदिनु सरह हो ।

यो प्रकरणलाई केही समुदायको, केही व्यक्ति र संस्थाको मात्र सरोकारको विषयका रूपमा लिने र नजरअन्दाज गर्ने गल्ती कतैबाट हुनुहुन्न । यसलाई बेवास्ता गरी ढाकछोप गर्दा चोट पुगेको समुदायलाई थप चिढ्याउने र उत्तेजित पार्ने काम मात्र हुनेछ । यो घटनाले प्रस्ट पारेको छ, नेपालका आदिवासी जनजातिप्रतिको सोच र दृष्टिकोणमा अपेक्षित परिवर्तन देखिन सकेको छैन । समाजमा भगवती पाण्डेको जस्तै सोच र धारणा बोक्नेहरूको जमात अझै ठुलै छ । यस्तो जमातको आकार घटाउनेतर्फ सबैको प्रयास केन्द्रित हुनुपर्नेमा त्यसलाई मलजल गर्ने हर्कत देखिनु कसैका लागि प्रिय र हितकर हुने छैन । यो जातीय सद्भाव भड्काउने आधार बन्न सक्छ । जातीय सद्भाव कायम राख्ने ठेक्का एकाध समुदायको मात्रै हैन । समाजका सबै पक्ष यो विषयमा गम्भीर हुनु आवश्यक छ । सबैको एउटै चिन्ता हो, सानो झिल्कोले सिङ्गो जङ्गल सखाप पार्न सक्छ । चिया गफले समाजका सबै अङ्गहरू खलबलिने गरी तुफान ननिम्तियोस् ।

– ललितपुर महानगरपालिका–२२, फर्सिडोल, ललितपुर

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका