आहा ! रारा गोल्डकप चैत २१ गतेबाट, उपाधिका लागि आठ टोली स्पर्धा गर्ने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
210 Shares
पोखरा, कास्की
तस्बिर : फाइल

मोफसलको प्रतिष्ठित ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता’ चैत २१ गते शनिबारदेखि शुरु हुने भएको छ ।

आयोजक सहारा क्लब पोखराले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । ‘खेलकूदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकूद पर्यटन शहरका रूपमा स्थापित गरौैं’ भन्ने उद्देश्यसहित आयोजना गरिएको प्रतितयोेगितामा एक विदेशीसहित आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । उनका अनुसार प्रतियोगिताको उद्घाटन खेल शनिबार आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपिएफ क्लबका बीचमा हुनेछ ।

प्रतियोगितामा सहारा र एपिएफसहित नेपालका ‘ए’ डिभिजनका क्लबहरु मनाङ मस्र्याङदी, नेपाल पुलिस क्लब, रुस्लान थ्रीस्टार, संकटा क्लब र मच्छिन्द्र क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विदेशी टोली अफ्रिकन रुट एशोएशन, डउला क्यामरुन सहभागी हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार रुपैयाँ तथा उपविजेताले पाँच लाख एक हजार रुपैयाँसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी यस वर्षदेखि राजनीतिज्ञ एवं उद्योगपति सूर्यबहादुर केसीको स्मृतिमा प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँसहित पुरस्कृत गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया