सांस्कृतिक आलोकमा प्रतिनिधिसभाको विघटन

735 Shares
काठमाडाैं

प्रारम्भ

नेपालमा प्रतिनिधिसभाको विघटनको घटना नौलो होइन । पटक पटक प्रतिनिधिसभा विघटन भएको इतिहास छ । वि.स.२०१७ सालमा महेन्द्रले, त्यसपछि गिरिजा प्रसाद कोइराला र शेरबहादुर देउवाको सिफारिसमा राजा ज्ञानेन्द्रले पनि गरेको थियो । अहिले झण्डै दुई तिहाइ जनमत लिएर सत्ताशीन हुन पुगेका केपी शर्मा ओलीले पुनः यो कदम दोहोर्याउने काम गरे । ओलीको प्रतिनिधिसभाको विघटनले नेपालको राजनीतिमा पुनः अर्को नयाँ मोड ल्याइदियो । सविंधानसभाबाट जनताको सविंधान बनाउने नारा लिएर विगतमा राजनीतिक दलहरुले लामो सघंर्ष गरेर दुई दुई पटक सविंधानसभाको निर्वाचनपश्चात् करिब १० वर्षको लामो प्रयासले नेपालको सविंधान-२०७२ जारी गरेको पाँच वर्षमै प्रतिनिधिसभाको विघटन गराइयो । यो विषय सर्वोच्च अदालतमा विचाराधीन भएकोले सबैको ध्यान त्यतै आकृष्ट भएको छ ।

ओली भर्सेज प्रचण्ड

अप्रत्यासित तरिकाले तत्कालिन नेकपा एमाले र माओवादीको गत आमनिर्वाचनमा चुनावी वाम गठबन्धन बन्यो । निर्वाचनपश्चात् दुवै दल एक भयो । दल एकताको बेलामा जुन सहमति ओली र प्रचण्डको बिचमा भयो, त्यो सहमति नै कालान्तरमा विवादको चुरो विषय हुन गयो । ओली र प्रचण्डको बिचमा शुरुवातमा आधा आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति थियो, समयक्रममा त्यो कार्यान्वयन नहुने भएपछि विवादको घेरा बढ्दै गयो । ओलीले प्रचण्ड र माकुनेलाई पेलेरै ठेगान लाउछु भन्दा विवाद पेचिलो बन्दै गयो । ओलीले जुन रवैया पछिल्लो समयमा लियो, त्यसले दलभित्र भाँडभैलो निम्त्यायो ।

नेपालको राजनीतिमा प्रचण्ड तीन दशकदेखि केन्द्रमा रहँदै आएको जगजाहेर नै छ । प्रचण्डको वरिपरि नेपालको राजनीति ३० वर्षदेखि नाचिरहेको सन्दर्भमा पार्टी एकतापछि प्रचण्ड निरीह बन्न पुग्यो र उनलाई निरीह बनाउने खेलमा ओली कसेर लाग्यो । नेपालको राजनीतिको सदैव हर्ताकर्ता समेत रहेका पुष्पकमल दाहाललाई भूमिकाविहीन बनाउदै ओलीले उनको राजनीति सिध्याउने कुचेष्टाका परिणामतः नेकपाको विवादले झन झन ठूलो आकार लिँदै गयो । अन्ततः ओली र प्रचण्डको द्वन्द्वको उत्कर्ष प्रतिनिधिसभाको विघटनसम्म आइपुग्यो ।

हिन्दू दर्शनको शासन

नेपाललगायत दक्षिण एसिया हजारौं वर्षदेखि हिन्दू दर्शनले शासन गरेको भूमि हो । हिन्दू दर्शन र जातिको शासनले यो क्षेत्रमा निरन्तर शासन, सत्ता सञ्चालन गर्दै आएको छ । हिन्दू दर्शन अन्तर्गत चार वर्ण व्यवस्था छ । सो वर्णाश्रम व्यवस्था बमोजिम ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र गरी समाजलाई विभाजित गरिएको छ । जसले ब्राह्मणलाई सबैभन्दा माथिल्लो जात मान्दछ र समाजको उच्चस्थानमा ब्राह्मण रहनाले राज्य सञ्चालन र कानून र विधि निर्माणमा उनीहरुकै वर्चश्व रहँदै आएको छ । दक्षिण एसियामा यसरी हजारौं वर्ष हिन्दू दर्शन र ब्राह्मणको शासनले राज्य, समाज र संस्कृति, प्रशासन, न्यायप्रणाली सबै आफनै अनुकुल निर्माण गरेको छ । मनुस्मृति, वेदका आधारमा यहाँका सविंधान, कानून, विधि र सहिंताहरु निर्माण गरी यो क्षेत्रका एकलौटी शासन गर्दै आएको परिप्रेक्ष्यमा समाज र राज्यको नशा नशा, रगत रगतमा हिन्दू दर्शन र ब्राह्मणको जातिको प्रभाव रहेको तथ्यमा कुनै द्विविधा छैन ।

एउटा ब्राह्मण बच्चालाई सिङ्गो समाजबाट एक्लो राखेर हुर्काउँदा उनको सामाजिकीकरण, आनीबानी, सोच्ने तौरतरिका, गर्ने व्यवहारहरु सबै एकलकाँटे र आत्मकेन्द्रित हुन जान्छ ।

सांस्कृतिक पक्ष र हुर्काइ

मानवशास्त्री डोरबहादुर बिष्टले आफनो पुस्तक ‘भाग्यवाद र विकास’ (पृ. ९६) मा एउटा ब्राह्मणको बच्चालाई सानैदेखि हिन्दू दर्शन र वर्णाश्रम व्यवस्था अनुसार हुर्काइने प्रसगं उठाउनु भएको छ । त्यो बच्चालाई सानैदेखि समूहबाट अलग राखेर हुर्कान्छ, उनलाई साथीभाइसित खेल्न दिइदैन । किनकि उनी उच्चजातको भएकोले समाजमा गएर अरु केटाकेटीहरुसित मिलेर खेले छुत, अछुतजस्ता हिन्दू सामाजिक संस्कृति प्रतिकुल हुने भएकोले त्यो गर्न उनलाई छुट छैन । एउटा ब्राह्मण बच्चालाई सिङ्गो समाजबाट एक्लो राखेर हुर्काउँदा उनको सामाजिकीकरण, आनीबानी, सोच्ने तौरतरिका, गर्ने व्यवहारहरु सबै एकलकाँटे र आत्मकेन्द्रित हुन जान्छ । तसर्थ, उनले समूहमा बसेर समूह व्यवस्थापन गरेर कार्यसम्पादन गर्ने संस्कृति कमजोर हुन्छ ।

सोही पुस्तकको पृष्ठ ९७ मा बिष्टले त्यसको बिपरीत एउटा आदिवासी जनजातिको बच्चालाई सानैदेखि समूहमा खेल्न दिइ हुर्काइन्छ । त्यो बच्चालाई छुत, अछुत, ठूला, साना, उचनीच केही सिकाइदैन । खुलेर उनले समाजको सबै तप्काका केटाकेटीहरु, साथीहरुसित मिलेर खेल्न, सगंत गर्न दिइने भएकोले उनले सानैदेखि समूहमा बसेर खेल्न, बोल्न, सोच्न, व्यवहार गर्न सिक्न पाइन्छ । जसको कारणले उनको सामाजिकीकरण अलि फराकिलो र सामूहिक हुन जान्छ । त्यसरी दुई तरिकाले हुर्केका बच्चाहरु ठूला भएपछि राजनीति, प्रशासन, शासनलगायत अन्य जिम्मेवारीमा जादा उनको काम गर्ने तौरतरिका फरक हुन जान्छ ।

बिष्टले उल्लेख गरे अनुसार सानैदेखि अर्म, पर्म र सामाजिक क्रियाकलापहरुमा सरिक हुँदै हुर्काइएको वा हुर्केका बच्चाहरुले आफनो पदीय जिम्मेवारी रहँदा सामूहिक कार्य गर्न सक्छन्, सबैलाई समेट्न सक्छन् र अलि व्यापक दायराबाट सोच्न सक्ने भएकाले उनीहरु आफनो पेशागत क्षेत्रमा सफल हुन्छन् । त्यसको विपरीत ब्राह्मण परिवारबाट आएको व्यक्तिको व्यक्तिवादी, एकलकाँटे र आत्मकेन्द्रित स्वभाव, प्रवृत्ति र व्यवहारका कारणले उनीहरुले नेतृत्व गर्ने पेशागत क्षेत्रमा त्यो आफनो हिन्दू दर्शन र संस्कृतिको गहिरो प्रभाव देखिन गइ सामूहिकतामा दरार सृजना हुन जान्छ ।

बिष्टको कथन र सत्यता

बिष्टको कथनमा समाजशास्त्रीय र मानवशास्त्रीय सत्यता रहेको पाइन्छ । उदाहरणको लागि नेपालको विद्युत प्राधिकरणमा कुलमान घिसिङभन्दा अगाडि थुप्रै खसआर्य, हिन्दू समाजका व्यक्तिहरुले नेतृत्व गरेका थिए । इतिहासमा पहिलोपटक तामाङ, आदिवासी जनजातिको बच्चा प्राधिकरणमा पुगेको थियो, उनले नेपालबाटै लोडसेडिङको अन्त्य मात्रै गराएन । बरु अर्बौ घाटामा रहेको विद्युत प्राधिकरणलाई उनले नाफामा पुर्यायो ।

घिसिङभन्दा अगाडिका निर्देशक मुकेश काफ्लेले ठूलो चुनौति दिएका थिए, तर उनी असत्य साबित भए । कुलमानले प्राधिकरणमा बसेर कुनै चमत्कार गरेको होइन, केवल उनले इमान्दारीपूर्वक समूह कार्य गरेको थियो । त्यो सामूहिक कार्यको परिणामतः उनले आफनो कार्यकालमा विद्युत प्राधिकरणमा मात्रै होइन, नेपालकै कर्मचारी प्रशासन, सार्वजनिक सेवामा सबभन्दा बढी नागरिकको माया, सहानुभूति र समर्थन पाए । उनको कार्यकाल सकेको बेलामा देशविदेशमा उनको समर्थन र पुनःनियुक्तिको लागि जुलुस र आमसभाहरु भए ।

सरकारमाथि विरोध र दवाव सिर्जना भए । प्रम ओली नै उनको लोकप्रियता देखेर इष्र्यालु भएको थियो । त्यो सबै उनको जातीय, सामाजिक पृष्ठभूमिले उनलाई दिएको संस्कृतिले गर्दा नै त्यो सम्भव भएको हो । तसर्थ, बिष्टको कथनमा सत्यता छ, उनले नेपाली समाजलाई परख गरेरै करिब पैंतीस वर्ष अगाडि नै त्यस्तो निचोड निकालेका थिए ।

प्रतिनिधिसभाको विघटन

प्रतिनिधिसभाको विघटन सामूहिक अस्तित्व स्वीकार गर्ने र सामूहिक कार्य गर्ने संस्कृतिको अभावमा हुन गएको हो ।

प्रतिनिधिसभाको विघटन यस्तै सामूहिक अस्तित्व स्वीकार गर्ने र सामूहिक कार्य गर्ने संस्कृतिको अभावमा हुन गएको हो । विगतमा सातसालपछि मातृका प्रसाद कोइराला र विपी कोइरालाको द्वन्द्वको जगमा राजा महेन्द्रले त्यतिबेलाको संसद विघटन गरेको थियो । उनीहरुको बिचमा पार्टीको सभापति र प्रधानमन्त्री एकै व्यक्ति हुन नहुने मागले गर्दा तिक्तता सृजना भएको थियो । फलस्वरुप मातृका प्रसाद कोइराला प्रधानमन्त्री हुदा तत्कालिन नेपाली सेना राजालाई सुम्पने कार्य उनले मन्त्रीपरिषदले निर्णय गरेको थियो ।

समयक्रममा, राजाले उनै सेनाको प्रयोग गरेर निर्वाचित प्रधानमन्त्री विपीलाई जेल हालेर संसद विघटन गराएका थिए । त्यहि प्रकारको बेमेल वि.स.२०४६ सालको जनआन्दोलन समाप्त भएपछिको प्रधानमन्त्री बन्ने निहुँमा तत्कालिन नेपाली कांग्रेसमा विवाद चर्किन जाँदा गणेशमान सिंहले प्रधानमन्त्री पद कृष्ण प्रसाद भट्टराईलाई सुम्पेर आन्दोलनको उपलब्धि जोगाउन त्याग गरेको थियो । तर, जब भट्टराई र गिरिजा प्रसाद कोइराला आमने सामने हुँदा फेरि संसद विघटन हुन गएको थियो । त्यसरी सिंहले त्याग गर्नुमा कहीँ न कहीँ उनको जातीय पृष्ठभूमि र संस्कृतिको भूमिका थियो नै ।

सांस्कृतिक आलोक

शायद अहिले नेकपामा ओली र प्रचण्डमध्येमा एकजना मात्रै फरक जातीय पृष्ठभूमि र संस्कृतिका नेता भइदिएको भए ! प्रतिनिधिसभा विघटनसम्म विवाद आइ पुग्दैन थियो । अथवा ओलीको स्थानमा कुनै आदिवासी जनजाति वा गैरहिन्दू समाजबाट हुर्केको व्यक्ति भइ दिएको भए, उनले सामूहिक अभ्यास, पद्धति र समूह कार्य गरेर सबैलाई व्यवस्थापन गरेर तमाम समस्या र विवादलाई निरुपण गर्ने थियो होला । एकलकाँटे, अहमकारी र आत्मकेन्द्रित भएर निर्णय गरेर सिङ्गो मुलुकलाई दुर्घटनामा पुर्याउनुको सट्टा बरु गणेशमान सिंह झैं आफैँ पछाडि सरेर भएपनि सबै समस्याको निकास दिने थियो र आजको दिन आउने अबसर दिने थिएन । ओली, प्रचण्ड र माकुनेको चेपुवामा परेर ससंद विघटन र सविंधानमाथि नै प्रतिगमन हुने अवस्था सिर्जना हुनुमा उनीहरुले आफ्नो समाजबाट प्राप्त गरेको संस्कार, संस्कृति, सामाजिकीकरण र हुर्काइको दोष हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका