लकडाउन: रोल्पामा महिला यौन हिंसाका घटनामा वृद्धि

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
रोल्पा

लकडाउनयता जिल्लामा दुई जबर्जस्ती करणीका घटना भए । गत चैत २५ गते परिवर्तन गाउँपालिका-५ का ३० वर्षीय अर्जुन घर्तीले एक युवतीलाई जबर्जस्ती करणी गरेका थिए ।

अभियुक्त घर्तीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि अदालतको आदेशमा अहिले उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

गत वैशाख ९ गते रुन्टीगढी गाउपालिकामा १६ वर्षीय युवकले बालिकालाई जवर्जस्ती करणी गरे । पीडक अहिले फरार छन् । बालिका भने परिवासँंगै छिन् । पीडित बालिकाको अवस्था अहिले सामान्य रहेको प्रनाउ गुरुङले जानकारी दिए । फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कोभिड-१९ को सन्त्राससँंगै सरकारले घोषणा गरेको लकडाउनको समय थपिँदै जाँदा महिला हिंसाका घटना समेत बढिरहेका छन् । यसबीचमा महिला घरेलुका साथै यौन हिंसाको समेत शिकार भएका छन् । लकडाउनले घर बाहिर निस्कने अवस्था नहुँदा हिंसा सहेर बसेको सरोकार पक्षको भनाइ छ ।

घटना प्रशस्त भएपनि जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको महिला तथा बालबालिका सेलमा भने चार मात्रै उजुरी परेका छन् । उजुरी दिएकामध्ये तीन जनालाई मिलापत्र गरेर पठाइएको र एक जनाको छलफल हुन बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेल इन्चार्ज मीना विकले बताइन् । उजुरी गर्नेहरु पनि सदरमुकाम आसपासका पीडित रहेको इन्चार्ज विकको भनाइ छ ।

हिंसा पीडितले महिला तथा बालबालिका सेलमा फोन गरेर आफ्ना समस्या उजुरी गरेकै आधारमा पनि आफूहरुले समस्या सम्बोधन गर्ने गरेको इन्चार्जले बताइन् । ‘ यस अवधिमा पतिबाट कुटपिटमा परेर हिंसा भोगिरहेका महिलाहरुको संख्या धेरै देखिएको छ’, विकले भनिन् ।

लकडाउनका कारण घर बाहिर निस्कन सक्ने अवस्था नभएकाले कतिपय महिला हिंसा लुकाउन बाध्य भएको महिला मानवअधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्य बताउछिन् । भौगोलिक विकटताले बालबालिकालाई लिएर सदरमुकाम आउन नसकेकै कारण महिला हिंसा सहेर बस्न बाध्य रहेको अध्यक्ष आचार्यको भनाइ छ ।’ स्थानीय तहको न्यायिक समिति, स्थानीय प्रशासन र अदालतमा गएर उजुरी गर्ने वातावरण नहुदा महिलाहरु हिंसा सहन बाध्य छन्’, आचार्यले भनिन् , ‘ नजिकको प्रहरी युनिटमा समेत उजुरीपश्चात् छलफल गर्ने वातावरण छैन ।’

घरेलु हिंसा भोगिरहेका करीब १२ महिलाले मोबाइलबाट कुराकानी गरेको आचार्यको भनाइ छ । यस अवधिमा मादक पदार्थ सेवन गरेर श्रीमतीमाथि कुटपिट गर्ने खालको घरेलु हिंसाका घटना बढी देखिएको आचार्यले बताउछिन् । सामान्य भन्दा यस्तो अवस्थामा हिंसाका घटना बढी मात्रामा हुने शारीरिक श्रम नगरेर घरमै बसिरहँदा आपराधिक मानसिकता भएकाहरुले यस्तो बेला हिंसाका घटना गराउने गरेको प्रनाउ गुरुङ बताउँछन् । उनका अनुसार जस्तोसुकै अवस्थामा पनि प्रहरी यस्ता घटना नियन्त्रणका लागि सजग छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा करणीका १३ उजूरी परेका छन् । त्यसरी प्राप्त उजुरीमध्ये १२ जबर्जस्ती करणी र एउटा जबर्जस्ती करणी उद्योगका रुपमा घटना दर्ता भएका छन । यो संख्या अघिल्ला वर्षमा हुने करणीका घटनाको तुलनामा धेरै हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका