पञ्चासे डाँडोबाट फर्केर पोखराको होटल रोमान्टिका आइपुग्नेबित्तिकै ह्वाट्सएपमा मित्र कमल पन्थीको मेसेज देखेँ ।
‘तीन दिनको ट्रेकिङ गर्ने इच्छा सवार भइरहेको छ मेरो दिमागमा । कुन होला सजिलो र छोटो ?’
बेल्जियममा बस्ने उनी यो पालीको दशैं र तिहारको बीचमा नेपाल आउँदै थिए ।
‘पञ्चासे ट्रेक गर्ने कि ? तपाईंले खोजेजस्तै छ । भर्खरै मात्र मैले मलेसियन ग्रुपलाई यही ट्रेक गराएर फर्केको ।’ प्रत्युत्तर छाडेँ मैले ।
‘हो र ! यात्रा तालिका पठाइदिनुस् न त । र, तपाईंको ताजा यात्रानुभूति पनि सुन्न पाए त झनै राम्रो !’ पन्ध्र मिनेटपछि उनको जवाफ आयो ।
यात्राका स्मृतिहरूले घेरिन थालेँ म ।
मैले भनेँ- इमेल हेर्नु !
० ० ०
उकालिँदै अस्ट्रेलियन क्याम्प
गत साल वैशाखमा मात्र धम्पुस हुँदै फेदी झरेथेँ । आज फेरि यहीँबाटै उकालो लाग्दैछु । कहिलेको यात्रा यही ठाउँमा अन्त्य हुन्छ, कहिले यही ठाउँबाट सुरु हुन्छ । दस बजिसकेको थियो उकालोमा पहिलो पाइला राख्दा ।
‘यात्रा कहाँ रोकिन्छ र !
एकछिन पाइला रोकिँदैमा
आँसु कहाँ सकिन्छ र
कहिलेकाहिँ पोखिँदैमा…’
थकाइले पो रोकिएका थियौँ । यात्रा त कहाँ नै रोकिन्थ्यो र !
लखनेको बिसौनीबाट उँभो लागेपछि मैले आफैँलाई सुनाएथेँ, यो कर्णप्रिय गीत । पञ्चासे डाँडालाई अन्तिम गन्तव्य बनाएर हिँडेका हामी । आँसु होइन, बरु पसिना चाहिँ काढेका थियौँ मज्जैले ।
ढुङ्गाले बनेका परम्परागत घरहरू छन् । गुरुङ संस्कृति झल्कने ढुङ्गाकै गाह्रो, ढुङ्गाकै छाना । आँगनभरि ढुङ्गा बिछ्याइएका । कति सुन्दर ग्रामीण परिवेश !
साउन महिनाको उष्मा । त्यसमा पनि पहिलो पाइलादेखिकै उकालो । हावा चलेको थिएन फिटिक्कै । उष्णताले आलसतालस भएका थियौँ हामी । वातानुकूलतामा बस्ने बानी परेपछि उष्ण प्रदेशकै भएपनि मान्छे सागजस्तै ओइलाउन बेरै लाग्दो रहेनछ । अनुहारमा बगेको पसिनाको धारालाई फेदीकै छेउ भएर बग्ने घट्टेखोलाको पानीले पखालेको कल्पना गरेथेँ मैले ।
बाईस जना सदस्य थिए- मलेसियन कम्पनी नोम्याड एडभेञ्चर परिवारका सञ्चालक र कर्माचारी गरी । वर्षको एक पटक अफिस बन्द गरेरै विदेश यात्रा गर्ने/गराउने कस्तो राम्रो कायदा ! उनीहरू आएका थिए र त हामीले पनि काम पाएका थियौँ । दुई पैसा कमाइने र त्यही बहानामा घुम्न पनि पाइने । नत्र बिनासित्ति यो वर्षामासमा उकालोओरालो गर्न कसलाई बौलाहा कुकुरले टोकेको थियो र !
बाटोमा भेटिए अस्ट्रेलियन क्याम्पतिरबाट झरेका एक हुल विदेशी पदयात्री । छोटो र सजिलो गन्तव्य भएकोले पदयात्रीहरू आइरहन्छन् यहाँ ।आजको हाम्रो गन्तव्य हो- अष्ट्रेलियन क्याम्प । धम्पुसको तल्लो भागलाई छोडेर उकालो लागिरहेका छौँ हामी २,१०० मिटरको उचाइ चुम्न । बीचमा ढसमस्स गरी बसेको छ धम्पुस । धम्पुसको ढाड टेकेर नाक नभाँची सुखै छैन ।
खेतका आलीआलीमा पाइला टेक्दै छौँ हामी । बर्षाको मलिलो पानी कलकल बगिरहेछ कुलोमा । कतै भर्खरै रोपाइँ भएर पनि रोपो सरिसकेको छ । कतै रोपोको पात फर्किसकेका छन् । कतै धमाधम रोपाइँ हुँदैछ । मानो खाएर मुरी उब्जाउने बेला पो हो यो त ।
आँखालाई खेतका गह्राहरूले तानिरहेका छन् । ठिङ्ग उभिन पुग्छु म । हली, लाठे, रोपार र हलगोरु चलमलाएको दृश्यले व्यूँझाइरहेको छ, मेरो स्मृतिको भावगङ्गा । आम्मै ! छबीसेको फाँटमा रोपाइँ हुँदाको रमाइलो ! म आली लाउथेँ, कान्ला ताछ्थेँ । कहिले हिल्याउँथेँ र साउँथेँ । कहिले कोदाली लिएर बाउसे गर्थें। बिउ पाँज्ने निहुँमा हिलाम्मे बनाइदिन्थेँ, रोपारहरूलाई । उधुमै गाली गर्थे मलाई मोरी साहिँली र माइलीहरूले । उरन्ठेउलो न थिएँ म ! के गर्नु ! खोइ अहिले त ? हिलो खेल्नुको त्यो मज्जा कहाँ लिनु !
कम्ता असारे गीत गाउँदैनथिन्, हाम्री पुरेत्नी बज्यैले । काँठे भाका पो चल्छ त हाम्रोतिर ! बज्यैले लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अन्तराहरू मिलाई मिलाई गाउँथे बाँकीले ।
अझै सम्झना छ धिताल दाइले गाएको गीत–
‘असारे मासको दबदबे हिलो छि मलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा छ बीस रिन लाग्यो….’
रोपारहरूले गाएको पनि कहाँ बिर्सेको छु र-
‘न भित्र खोक्रो, न बाहिर बोक्रो, गुलियो कसार,
पूरबै ढोका खोलेर हेर्दा लागेछ असार..’
कोही गाउँथे-
‘असारलाई भनी कुटेको च्यूरा म कति साँचूला
सौताका हात दुई कुड्की भात म कति बाँचूला…’
थकित वातावरणलाई आनन्ददायी र रोचक बनाइदिन्थ्यो गीतले । रसरङ मात्र होइन, प्रेम, वियोग र वेदनाका तरङ्ग पनि ब्यक्त हुन्छ, असारे भाकामा । रोपाइँले बेस्सरी तान्दा विगततिर पुगेछु । रोपाइँको हिलो छुन नपाए पनि मन चोबले मैले । टोली भने अगाडि बढिसकेको थियो । भेट्न हतारिएथेँ म । तल्लो गह्रामा बयली खैल्दै छन् धानको रोपो । माथिल्लो गह्रामा हावा खाइरहेका छन्, घोघा लागेका मकैका बोटहरू । मकै भाँच्नेबित्तिकै रोपो गोड्न हतार भइसकेको हुन्छ । कहिले पाउनु त फुर्सद किसानहरूले !
मकैबारीभित्र तुन्द्रुङ्ङ परेका छन् मकैबोडी । घरका करेसाबारीमा तेर्सिएका छन्, फर्सीका झाल । थाँक्रामा झुन्डिरहेका छन्, काँक्राका एकनासे कैँडाहरू । त्यो पनि अर्ग्यानिक ! सम्झँदै थिएँ- यस्ता काँक्रा त गाउँमा हुँदा चौथीमा चोरेर कति खाइयो कति ! सम्झेर मुखै रसायो मेरो । सोचेँ- काँक्राको चिरामा नुन खुर्सानी दलेर सुकेको आँतलाई भिजाउन पाए यो चर्को घाममा कति आनन्द आउला !
यतिका मान्छे छन् । एक्लै त के खानु । ‘उड यु लाइक टु टेस्ट यान अर्गानिक क्युकम्बर ?’ टोली नेता युइन लीलाई सोधेँ मैले ।
‘ह्वाई नट !’ उनको जवाफ । ‘काँक्रोको कति हो ?’ आँगनमा उभिएर हाम्रो लर्कन हेरिरहेकी आमैलाई सोधेँ ।
‘गोटाको बीस ।’ ‘दिनुस् न त पाँचवटा ।’ आमैले काँक्रा टिपेर पखालिन् र नुन खुसार्नी पिँधिन् । एकएक चिरा भाग पुग्यो । काँक्रो टोक्दै उकालो लागेका थियौँ हामी ।
ढुङ्गाले बनेका परम्परागत घरहरू छन् । गुरुङ संस्कृति झल्कने ढुङ्गाकै गाह्रो, ढुङ्गाकै छाना । आँगनभरि ढुङ्गा बिछ्याइएका । कति सुन्दर ग्रामीण परिवेश ! घान्द्रुक, लान्द्रुक र टोल्कातिर हिँड्दाको याद आइरहेथ्यो मलाई ।
सुनसान देखिन्थे कतिपय घरहरु । मानिस नबसेकाले घरका भित्तामा सिस्नो र अन्य झारले ढाकिएका छन् । प्रायः बृद्धाहरु मात्रै छन् गाउँमा । कोही विदेसिएका र शहर झरेकाले पहिलेको चहलपहल छैन धम्पुसमा । धम्पुसको जीवन पढ्दै हिँडिरहेका थियौँ हामी ।
आइपुग्यो धम्पुसको धार्मे चौतारो । बटुवाहरू सुस्ताउने अर्को बिसौनी । एउटा आकर्षक भ्यू प्वइन्ट पनि । पीपलको वृक्षमुनि बिछ्याइएका छन्, चाक्ला छपनी, बटुवालाई बस्न भनेर । पूरै चौतारा ढाकेथ्यो हाम्रै टोलीले । छब्बीस जना थियौँ हामी मलेसियाली र नेपाली गरी । एक दर्जन त महिलामात्र थिए । धेरैजसो मुस्लिम । मुख देखाए पनि टाउका चाहिँ छोपेका हुन्थे विवाहिताहरूले ।
‘किन यतिबिघ्न कट्टर हुनुपरेका होलान यी मुसलमानहरू ! यो उधुममा त झिक्नु नि घुम्टो !’ क्रिडा गर्दै थियो प्रश्नले मेरो मस्तिष्कमा ।
खेतीयोग्य जमिनले घेरा हालेको छ बस्तीलाई । तल फेदीका फाँटदेखि पोखरासम्मकै अनुपम दृश्य देखिन्छ । माथि देखिन्छन् माछापुच्छ्रे र चम्किला अन्नपूर्णाका स्वेत वदन ।
अन्नपूर्णाको अर्थ अधिष्ठात्री देवी, दुर्गाको एक रूप । यो क्षेत्रकै संरक्षिका पनि हुन् भन्ने लोकोक्ति पनि छ । हिन्दू मान्यता अनुसार अन्नपूर्णालाई पर्वत राजा हिमवतकी छोरी भनेर पनि विश्वास गरिन्छ । म भन्छु- ‘अन्नपूर्णा त पर्याय हो, चिनारी हो नेपालको ।’
हिमाल हेर्नका लागि उत्तम ठाउँ हो धम्पुस । त्यसैले त कतिपय चलचित्रहरूमा यहीँकै दृश्य देखिन्छ । फेरि बस्तीसम्मै सडक आइपुगेको छ । पहाड भएर पनि सुगम छ- धम्पुस ।
डट्नु थियो उकालोसित । डट्यौँ मज्जैले । शिरमा माछापुच्छ्रे सिउरिएर उकालोसित डटेको थिएँ म । नौनाडी खिचिइसकेको थियो धम्पुसको अनु गेस्ट हाउस पुग्दा । लन्चको अर्डर गरिसकेका थिए सहयात्री जयनाथले । ब्रोइलर कुखुराको मासुसहितको दाल भात र साथमा थियो पुदिनाको अचार । भोको पेटलाई के चाहियो र ! पुदिनाको महकले नै जगेडा चार गाँस भात फाल हालेको पत्तै भएन ।
अनु गेस्ट हाउस छोड्नुअघि आकाश छेकेर ठडिएको अस्ट्रेलियन क्याम्प देखाएँ मैले मलेसियनलाई । ‘आर वि टचिङ द स्काई ?’ ठट्टा गर्दै हाँसिन् टामी वेबर । उनी पनि त्यो कम्पनीको कार्यकारी ।
घट्टे खोला पुल,
धम्पुस आउने मायालाई सम्झना
लालीगुराँस फूल……….’
धम्पुस छोड्नुअघि गुन्गुनाएथेँ मैले ।
यही गीतको भावनामा डुबुल्की मार्दै थिएँ धम्पुसको बस्ती नछेलिउन्जेल । अघिल्लो पटक धम्पुसमा बास बस्दा यहाँका आमा समूहले लालीगुराँस फूलले स्वागत गर्दै यही गीतमा नाच देखाएका थिए उनीहरूले ।
थरीथरीका हुँदारहेछन् जुका पनि । कुनै झाडीमा बस्ने । कुनै मान्छेको पेटमा । कुनै पानीमा । सबैभन्दा खतरनाक चाहिँ कुर्सीमा बस्ने नै हुँदोरहेछ । टाँसिएपछि टाँसिएको टाँसियै । ढाडिएर बसेपछि नूनको पोकोले ठेगान लगाउनै नसकिने । त्यसैले त सधैं खोक्रो हुँदोरहेछ देश ।
० ० ०
लौ, एकाएक बद्लियो मौसम !
आकाश त घ्वाप्पै छोप्यो बादलले । पिर्पिराउन थाले पानीका कण । बादल धर्तीमा लत्रिन थालेपछि आकाशमै अल्पियो अघि भर्खरसम्म देखिएको अस्ट्रेलियन क्याम्प । मलेसियनका लागि छिनमै घाम लाग्नु र पानी पर्नु नौलो कुरा होइन । बरु शीतल भएकामा राहत पाएको अनुभव गरेका थिए ।
धम्पुसको बस्ती सकिएलगत्तै स्वागत गर्छ अर्को उकालोले । घामको उपस्थितिमा बाटोभरि छाया पार्ने गुराँसे डालीहरू छेकिएका छन् बाक्लो कुहिरोले । हरियाली हड्पिरहेको छ हुस्सुले । मौन छ गोरेटो । देखिँदैनन् कोइली, ढुकुर, तित्रा, सुगा, मैना र मुनालहरू, न सुनिन्छ तिनका कोकिल कलरव । खुला आकाशमा उडिरहने स्वतन्त्र पन्छीहरू कुहिराको बन्धनमा परेका छन् बिचरा !
निःशब्द छ चराचर । निःशब्द छ प्रकृति । निःशब्द छन् सहयात्रीका ओठ । निःशब्द छौँ हामी सबैसबै । लगभग निःशब्द भएरै उकालिइरहेका छौँ हामी ।
पुगियो एमानको चउरमा । एउटा नौलो नागी । सुरम्य छ घना जङ्गलबीचको घाँसेचउर । गृष्मकालिन सौन्दर्यको सुगन्ध फैलिरहेको थियो धर्तीभरी । चउरमा चरिरहेका छन् गाइवस्तु, बाख्रा र तिनलाई रखवारी गरिरहेका छन् तिनका निःशब्द गोठालाहरू । बाख्राका पाठाहरू चउरमा बुर्कूसी मारेझैँ बुर्कूसिएथ्यो मेरा आँखा हरिया गुराँसका हाँगाहरूमा । पोथाना र अस्ट्रेलियन क्याम्प जाने बाटो छुट्टिएको छ यहाँ । यहाँ पनि बनाइएको छ बटुवाका लागि एउटा बिसौनी । शरीरको थकानलाई बिसौनीको मल्हम लगाएपछि बोली फुट्दै थियो हाम्रो ।
प्रकृतिको चर्तिकला कस्ले बुझ्न सक्नु ! हठात् कुहिरोले धर्ती छोड्यो । उजेलियो चउर । उजेलिए सारा वनपाखा । निलो आकाश नदेखिएपनि देखियो गुराँसे हरियाली । निस्कन थाले चराहरू गुँडबाट र निकाल्न थाले नवीन नाद । आकाशको रङ, कुहिरोको रङ र वर्षे हरियालीको तादम्य । सुवास छ मौसमको । सुवास छ जरोबुटोको । आहा, क्या कञ्चन सौन्दर्य प्रकृतिको ! एउटै लुङ्दरको धराले रङ थपेको छ । अनि त के चाहियो र ! लाग्दै थियो मलाई- प्रकृतिको वदन चुमुँजस्तो, हरियालीमा केहीबेर लुकुँजस्तो र प्रकृतिकै भेषमा नाचुँजस्तो ।
थोरै मात्र बाँकी थियो गन्तव्य छिचोल्न । हावा चिसिँदै आयोे पहाड उक्लेपछि । स्पर्श हुँदै थियो लेकाली ठण्डीसित । शरीरका २ सय ६ वटै जोर्नीहरू रगडिएका थिए सायद । थलिन थालेको थियो शरीर । फेरि पनि अस्ट्रेलियन क्याम्पमाथि बिजय हासिल गरेको खुसियाली त मनाउनै पर्यो । घुम्न आएको बेला नपिए कहिले पिउने ? फेरि एउटा बहाना पनि त चाहियो ! बगेको पसिना पूर्ति गर्ने तरिका न हो । थकाइको बदलामा आफ्नै ज्यानलाई ट्रिट गर्ने उपाय न हो । सबैले पिउँछन् तर पिउनुको अद्भुत आनन्द त शायद दुनियाँमा पदयात्रा गर्नेले मात्र पाउँछ । के छ त बिचार भरेको लागि जयनाथ ? उनको अभिप्राय बुझ्ने प्रयत्न गरेँ मैले । बिचार त उही हो । त्यतै एउटा लोकल भाले पनि व्यवस्था गर्न सके त गज्जबै हुन्थ्यो । मेरो आशय बुझेरै भनेका थिए सायद उनले । जयनाथसँग बेलुकीको योजना बनाउँदा बनाउँदै चुम्यौँ अस्ट्रेलियन क्याम्प । चार बजिसबकेको थियो ।
खासमा खर्क हो- अस्ट्रेलियन क्याम्प । उहिलेउहिले यहाँ होटलको व्यवस्था थिएन । सबैभन्दा पहिले अष्ट्रलियनले क्याम्पिङ गरेर बास बसेका थिए रे । फराकिलो ठाउँ क्याम्पिङ गर्न सजिलो भएकोले पर्यटकीय गन्तव्यको रुपमा चिनिँदै गयो । त्यसपछि यहाँ विदेशी पर्यटक ल्याउनेले अष्ट्रेलियन क्याम्प भन्न थालेपछि खर्क भन्न छाडिएछ । जेजे भएपनि माछापुच्छ्रे र अन्नपूर्णाको अमित आँगन हो– अष्ट्रेलियन क्याम्प । हिउँको बिस्कुन सुकाइरहेका हिउँचुलीहरू नजिकै देखिन्छन् यहाँबाट । हृदयहारी ठाउँ हो यो । ख्याल आनन्द आउँदैन हिमाल, पहाड र वेँसीका दृश्यहरूमा आँखा ओछ्याउँदा । यतिबेला कुहिरोको पर्दा टाँगिदै थियो डाँडामाथि । आँखाले कुहिरो पन्छाएर हिमशैलका सग्ला तस्बीर कोर्न खोज्दा खोज्दै खसिकेको थियो गोधुली ।
जङ्गलको बाटो, जुकाको चुसाइ
‘वर्षामासको पदयात्रा त्यति रोमाञ्चक चाहि होइन । हिमालको मुखै देख्न नपाउँदा मनै खिन्न हुने । यति कष्ट गरेर यहाँसम्म आइपुगेपछि त पदयात्रीहरूलाई हिमाल चिनाउन पाए पो ।’ मनोलाप गर्दै थिएँ म । पौने ६ बजे सूर्योदय हुन्छ भन्ने जानकारी गराएको थिएँ टोलीलाई । त्यही मुताबिक क्यामरा हातहातमा लिएर होटलको छतमा उक्लेका थिए उनीहरू । अघिल्लो साँझदेखि नै गुफा बसेका हिमालहरूले बादलको ढोका खोल्न सकेका थिएनन् । सात बज्दा पनि उघ्रेन आकाश । अन्ततः ‘हिस्स बुढी खिस्स दाँत‘ भन्ने उखान चरितार्थ भएरै छाड्यो ।
तीन महिनाअघि यहाँ आउँदा बिहान छ नबज्दै रातिइसकेको थियो पूर्वी क्षितिज । झलमल भइसकेको थियो धर्ती । हाम्रो नेवारी संस्कारमा बाह्रा बसेका किशोरीहरूलाई सूर्यदर्शनका लागि निकाल्दा सिँगारेझैँ सिँगारिएका थिए हिमचुलीहरू, सुनौला गुन्युचोलीमा । कति सुन्दर थियो त्यो दिनको सूर्योदय ! सम्झँदै थिएँ म अघिल्लो पटक आउँदाका पल ।
“वी स्टिल ह्याव चान्स टू सी द माउन्टेन्स फ्रम पञ्चासे हिल ।” थम्थम्याएथेँ मैले टोलीलाई ।
० ० ०
अस्ट्रेलियन क्याम्प गेष्ट हाउसमा बिल भुक्तानी गरेपछिको हाम्रो पाइला पञ्चासेतर्फ सोझियो । एउटा सानो सेल रोटी पाक्दै छ हामी भोली पोखरा पुग्दा । आन्तरिक पर्यटकका समेत रोजाइमा पर्ने अस्ट्रेलियन क्याम्प एउटा रमणीय गन्तव्य हो । ‘यहाँको मूल्यको मनोमानीलाई एकैछिन बिर्सने हो भने हत्तपत्ति छोडिहाल्न मन लाग्ने ठाउँ कहाँ रहेछर अस्ट्रेलियन क्याम्प !’ काँडे झर्दै गर्दा सहयात्री माधव घिमिरेले भनेका थिए । होटलको मेनु देखेर झस्केका थिए उनी । किन नझस्किउन त एक कपको चियाको मूल्य ८० रुपैयाँ भएपछि ! काँडेबाट हिँडेरै एक घण्टामा पुगिने ठाउँमा पनि कुनै पनि चिजको मूल्य उचित नराखिनु चाहिँ विडम्बना नै हो ।
० ० ०
बिहानको शीतल समय । अस्ट्रेलियन क्याम्प काँडे झरुन्जेल त सजिलै भयो । अबको बाटो उकालो । काँडेदेखि पञ्चासेसम्मको बाटो जयनाथ र सीतारामलाई मात्र थाहा छ । उनैले नेतृत्व गरिरहेका छन् बाटोको । न घाम लागेको थियो । न त फुटेको थियो बादलको घल्चा । दिन त रोज्जा परेको हो । हिमाल नदेखे पनि बेखुसी थिएन टोली । हरिया पहाडमाथि डुलिरहेको थियो कुहिरो । त्यही कुहिरो छुन लम्किरह्यौँ हामी । हामी जतिजति उकालिन्थ्यौँ त्यतित्यति माथि भागिजान्थ्यो कुहिरो । लुकामारी खेलझैँ भइरहेको थियो ।
० ० ०
भदौरेमा लन्च गरेपछि मौसमले साउनको सङ्केत गरेथ्यो । खुसी भएर बादलले र वर्षाउन थाल्यो पानीका कण । मौसमको नित्यकर्म थियो त्यो ।
बाटो थियो जङ्गलको । झाडी पन्छाउदै हिँड्नुपर्ने । ‘अब त जुकाको साम्राज्य चल्छ ।’ जयनाथ बोले । हो रहेछ । घारी नै रहेछ जुकाको । कुन सड्को आन चेको नाडीमा टाँस्सिन भ्याइसकेछ एउटा जुका । बाफ रे ! त्यसपछि त जुकाको चुसाइबाट अछुतो कोही भएनौँ ।
मेरो पनि जुत्ताभित्र मोजा छेडेर पनि छेपारीतिर पुगिसकेका थिए गोडा दुइएक जुका । मलमल कपडाको स-सानो टालोमा अलिकति नून पोको पारेर टोलीलाई बाँडेको थिएँ, मैले जुकाको आक्रमणबाट बच्न । क्या सजिलो ! नुनको पोकाले छयास्स छुवाउने बित्तिकै जुका त गुडुल्को परिहाल्ने । यसै गरीगरी जुकालाई ठेगान लगाएथ्यौँ हामीले । आकाशको रोदनमा सशक्त हुँदोरहेछ जुकाको आक्रमण ।हम्मेहम्मे पर्दोरहेछ जुकासित जागिन । थरीथरीका हुँदारहेछन् जुका पनि । कुनै झाडीमा बस्ने । कुनै मान्छेको पेटमा । कुनै पानीमा । सबैभन्दा खतरनाक चाहिँ कुर्सीमा बस्ने नै हुँदोरहेछ । टाँसिएपछि टाँसिएको टाँसियै । ढाडिएर बसेपछि नूनको पोकोले ठेगान लगाउनै नसकिने । त्यसैले त सधैं खोक्रो हुँदोरहेछ देश ।
० ० ०
टोलीका सदस्यहरू घरीघरी सोध्छन्- ‘पञ्चासे कति टाढा छ’ भनेर । ‘उः परपट्टिको डाँडो पछाडि छ पञ्चासे । अब दुई घण्टा लाग्ला ।’ जानकारी दिन्छन् जयनाथ । काई र लेउले भरिएको बाटोमा लड्दै र पड्दै हिँडेको डेढ घण्टा भइसक्यो । अझै दुई घण्टा हिँड्नुछ । के गर्नु ! हिँड्नु त परिगो । जयनाथको विश्वासको फेर समातेर चिप्लेटी खेलिरहेका छौँ हामी । जङ्गलले पनि गुञ्जाउँथ्यो अट्टहास प्रत्येक पटकको हाम्रो लडार्इमा । साँच्चै उपहासका पात्र भएका थियौँ हामी । कैयौं पदयात्रा गरेँ हुँला आजसम्म । यात्राको सिलसिलामा कैयौँचोटी लडेँ पनि । फरक यतिमात्र हो– अघिल्ला पटक हिउँमा पछारिएको ज्यान आज वर्षे हिलोमा पछारिइरहेको छ । यद्यपि म खुसीले लड्दैछु आज । अग्निपरीक्षाझैँ भइरहेछ, मलेसियन टोलीलाई आजको पदयात्रा । येनकेन पुग्नुछ पञ्चासे ।
प्राकृतिक छटाले भरिपूर्ण छ पञ्चासेको यो सेरोफेरो । ठाउँठाउँमा आइरहे खर्कहरू । ठाउँठाउँमा कञ्चन पानीका पोखरीहरू छन् गमक्क परेर बसेका । कति जीवजन्तुहरूका प्राण जोडिएको होला यी तलाउहरूमा ! अथाह कृपा छ पञ्चासेको । सयौँथरी फूल, सयौँथरी पन्छी र पुतली, सयौँथरी औषधीजन्य जडिबुटी, थरीथरीका च्याउ पाइन्छ यहाँ । वन्य सम्पदामा योभन्दा धनी ठाउँ कमै छन् नेपालमा । बाटो छेकेका छन्, छत्रे उन्यू, चुत्रो, गुहेँली, लोठसल्ला र ऐसेलुका बोटहरूले । थरीथरीका जङ्गली लहराहरूले बेरिएका छन्, खस्रु र गुराँसका रूखहरू । झ्याउ र सुनाखरीले ढपक्कै ढाकेका छन् । निख्खरा हरियो र पहेँलो रङ छरेका छन् दुरेका लहराहरूले । बेमौसम भएर मात्र हो, नत्र पुष्प अनुरागीहरू त सुनाखारीका रङ र वासनामा लठ्ठै पर्ने रहेछन् यहाँ । वर्षाको मलिलो पानीले मौलाईरहेका यी सुनाखरीहरूले केही समय कुर्नु छ फेरि मुस्कुराउन ।
ठाउँठाउँमा छन् सानातिना तलाउ, भैँसी आहाल बसिरहेका । बुढो गोरुहरू चरिरहेका छन्, नाकमा ढाडिएका जुका लिएर । अचम्म लाग्दै थियो- बस्ती त निकै पर छ; कहाँबाट आए यी घरपालुवा जनावरहरू ? सोध्दै थिएँ म आफैँलाई ।
यसैबीच अचानक भेटिए, एक अधबैँसे र उनको साथमा आएका एक किशोर । सोचेको थिएँ– तिनै होलान् यी गोरुहरूका धनी ।
सोधेँ –
“तपाईंकै हो यी गोरुहरू ?”
“हो । यिनलाई मैले ल्याएको ।”
“घर कहाँ हो तपाईंको ?”
“बाँके बाङ्सिङ, स्याङ्जा ।”
“उति टाढादेखि ल्याउनुहुन्छ चराउन ?”
“चराउन होइन । यिनललाई यहाँ छोड्न ल्याएको ।”
“बाघले खाँदैन त यिनलाई ?
“खाँदैन । ‘बलिया बाङ्गा बाघलाई, बुढाखाडा माघलाई’ भन्ने त उखानै छ नि । बाघले पनि तन्नेरीकै सिकार गर्छ नि !”
गोरुलाई जङ्गलमै छाडेर फर्कंदै थिए ती मानिस । असङ्गत लाग्यो मलाई उनको तर्क ।
सम्झेँ- हाम्रोतिर बुढो भएका गोरुहरू बाँचुन्जेल किलामै पालिन्छन् । कति निर्दयी मान्छेहरू ! बल छउन्जेल जोत्नुसम्म जोतेर, खानुसम्म बाली खाएर बुढो भएपछि तिनको रक्षा गर्नु त कता हो कता उल्टै वनमा छोडिदिने ? पशु अधिकारको सवालमा मानवीय संवेदनहिनता कहिलेसम्म होला ? यी गोरुहरूको वास्तविकतमा टोलीले थाहा पाए के भन्लान् ? खिन्न भएर पाइला सार्दै थिएँ म ।
० ० ०
पुगियो पञ्चासे । निकै टाढा होला भन्ठानेको थिएँ । पोखराबाट अठ्ठाईस किलोमिटर मात्र रहेछ दूरी । पोखरा पल्तिर पो रहेछ पञ्चासे त ।
तगारो उघारेर सन सेट भ्यू होटल छिरेका थियौँ हामी । नेपालमा अझै छ तगारोको प्रयोग । ग्रामीण जीवनका यस्ता भावगाम्भिर्यतालाई समेटेर स्रष्टा स्व. विनोद गौचनले गरेको रचना सम्झेँ मैले–
‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले
त्यही रुमालमा पञ्चासेको फूल राखेँ मैले………’
० ० ०
रगतपच्छे भएका थियौँ हामी जुकाको चुसाइले । सन सेट भ्यू होटलको कोठा छिर्नुअघि मोजा खोलेर हेर्दा सबैको गरी जम्माजम्मी साठी थान जुका निस्क्यो होला । सामुहिक अन्त्यष्टि गरेका थियौँ हामीले जुकाहरूको ।
कास्की पर्वत र स्याङ्जाको संगमस्थल हो- २,५०० मिटर उचाइमा अवस्थित पञ्चासे । पञ्चासेको अर्थ बुझ्न खोजेँ तर स्थानीयवासीको मतैक्य पाएन यो ज्यानले । कोही भन्छन्- ‘पाँचवटा डाँडाको शिर भएकाले ‘पञ्चशिर’ भन्दाभन्दै अपभ्रंश भई पञ्चासे भनिएको रे ।’ ‘पाँचवटा हरियाली पहाडहरूको मिलनविन्दु अर्थात् ‘पञ्च’ र ‘आसन’ को संयुक्त शब्द पञ्चआसन भन्दाभन्दै अपभ्रंश भई पञ्चासे भनिएको रे ।’ सन सेट भ्यु होटलमा सञ्चालक राम गुरुङ भन्छन् । तर सही लाग्छ दुवै कथन । स्थानीयले भनेका कुरा पत्याउने त हो हामी परदेशीले !
० ० ०
‘आँधीखोला कहाँ होला त्यसको शिर,
कसो गरी मेटाउँ त मनको पीर ?’
जीवनाथ राम्जालीको यो मिठो सिर्जना ताजा थियो ममा ।
“साँच्चै कहाँ हो त यसको शिर ?” राम गुरुङसँग जिज्ञासा राखेँ । स्कुल पढ्दा गुरुले रामायणमा उल्लेखित एक पात्र श्रवणकुमारको कथा सुनाउनुभएको थियो । धूमिल याद थियो मलाई त्यो वियोगान्त कथाको ।
उही कथा सुनाए उनले-
‘अयोध्याका राजा दशरथका हातबाट भूलवश श्रवणकुमारको मृत्यु भएको थियो । खर्पनमा राखेर आफ्ना आमाबुवालाई तिर्थस्थलहरूको भ्रमण गराउन लगेका श्रवणकुमारले बाटोमा आमाबुवालाई प्यास लाग्दा उनीहरूलाई ओढारमा राखेर पानी लिन तलाउमा गए । त्यसै वनमा राजा दशरथ पनि सिकार गर्दै थिए । श्रवणकुमारले कुवामा कमण्डलु डुबाएर पानी भर्दाको आवाज सुन्दा राजा दशरथलाई मृगले पानी खाएको आवाज भन्ने लागेछ र बाण चलाउँदा श्रवणकुमारको मृत्यु भएको थियो । अन्धाअन्धीका पीडा र वेदनाका अश्रुधाराले नै अन्धाअन्धी दह बनेको र त्यहीँबाट सुरु भएर बग्ने खोलालाई आँधीखोलाको नामले पुकार्न थालियो ।’ पञ्चासे नजिकै (स्याङ्जाको चिलाउनेबासमा) पो रहेछ कथामा भनिएको त्यो ठाउँ । जुकासित लडाईं गदैँ पञ्चासे पुग्दाको खुसीले रमाए पनि श्रवणकुमारको कथाले उदास भएथेँ म ।
० ० ०
कताबाट जाने हो पञ्चासे ताल ? माधवजीको प्रश्न जयनाथलाई । “उः त्यो सिरानमा । चारैतिर जङ्गलले घेरिएको भए पनि पात-पतिङ्गरहरू तालमा तैरिएका हुँदैनन् । रूखबाट पात झर्नेबित्तिकै चराले टिपेर किनारमा ल्याइहाल्छ रे !” पञ्चासे तालको विशेषता बताए जयनाथले ।
कस्तो प्रकृतिप्रेमी चरा ! यस्तो चरा पनि हुन्छ र ? कुन होला त्यो तालप्रेमी चरा ! देख्न पाए हुन्थ्योजस्तै लागेथ्यो मलाई । “जाऔँ न त ताल हेर्न !” चराले रूखबाट झरेको पातलाई टिपेको हेर्ने इच्छा जाहेर गरेँ मैले । “हुन्थ्यो नि । ताल पनि हेरिन्थ्यो । श्रवणकुमारको समाधी देखिन्थ्यो र शिव मन्दिरको पनि दर्शन गर्न हुन्थ्यो । तर चार घण्टा लाग्छ जान आउन ।” जयनाथको जवाफ । चार घण्टा ! ल, टाढैबाट नमस्कार ! यो हिलोमा को गइदियोस् फेरि जुकासित जोरी खोज्न । त्यहीँबाट नमन गरेथेँ मैले शिवजीलाई ।
“तालबाट उत्तरतर्फ माछापुच्छ्रे, अन्नपूर्णा, धौलागिरीलगायतका हिमशृङ्खला, दक्षिणतर्फ पाल्पाको श्रीनगर एवम् तराई फाँट देखिन्छ । पोखरा, स्याङ्जा, कुश्मा, बाग्लुङका साथै राम्जाजस्ता सुन्दर बस्तीको दृश्यावलोकन गर्न सकिन्छ ।” बेलिबिस्तार लाए जयनाथले ।
पञ्चासे तालमै पुगेझैँ भएथ्यो उनको कुरा सुन्दा । मेरा आँखाअगाडि आए- माछापुच्छ्रे, धौलागिरि र अन्नपूर्णाका आकृतिहरू ।
० ० ०
गाउँ घुम्दै भन्ज्याङतिर टहलिन पुगेका थियौँ हामी बेलुकीपख । मौसमले जिल्याइरहेका थियो हामीलाई । हिमाल देख्न नपाएको दुखेसो पहिलो पटक पोख्दै थिइन् युइन लिले । पञ्चासेबाट हिमाल देख्न सकिएला कि भन्ने मेरो अनुमानले पनि फेल खालाजस्तै लागेको थियो । ‘भोलिको सुर्योदय पनि देख्न नपाइने भयो ।’ चिन्ताको ग्रहण लागेको थियो माधवजीको मुहारमा । पञ्चासेमा वेगिएको मन्सुनी वायुको क्लेद अनुभूत भइरहेको थियो त्यतिबेला मलाई । आँधीखोलासित स्पर्श गर्न नपाएपनि त्यसको अस्तित्वबोधले शीतल भएको थियो मेरो हृदय ।
० ० ०
भोलिपल्ट ।
नभन्दै जिल्याइदियो मौसमले । अन्ततः तुषारपात भयो मलेसियनहरूको हिमाल हेर्ने सपनामा । राम गुरुङको मुहारको उज्यालो पनि गुमनाम थियो पञ्चासेमा घामको उज्यालो नपरेपछि । उनले भने- “सधैँ देखिरहेको हिमाल नदेख्दा हामीलाई पनि खल्लो लाग्छ । दुःख पर्दा यही हेरेर चित्त बुझाउँछौँ हामी ।” हिमाल देख्न नपाउँदाको पीडा ब्यक्त गर्न सकिरहेका थिएनन् टोलीले । मलाई भने अघिल्लो पटक आउँदा सराङकोटबाट देखिएको सूर्योदय र घामको लाली हिमालमा पर्दाको सुन्दर चित्रहरूको झझल्को आइरहेको थियो । मेरो मनले भनिरहेको थियो– ‘कम्तीमा एकछिन मात्र हिमाल देख्न पाएको भए पदयात्राको सार्थकता त हुन्थ्यो नि !’ “यु आर याट यान अल्टिच्युड अफ २,५०० मिटर्स । पञ्चासे इज इट्सेल्फ अ माउन्टेन ।” हिमाल नदेखिए पनि हिमाल टेकिरहेको आभास गराए मैले टोलीलाई ।
पञ्चासे छोड्नुअघि जयनाथ भन्दै थिए– “मात्र ओरालो हो आजकोे बाटो । सोह्र सय पचास मिटर ओर्लनु पर्छ घाँटीछिना पुग्न । ढुङ्गाको खुट्किलामा लेउ जमेर के हिँडिसाध्य होला र ! घाम लागे त लेउ पनि अख्रिन्थ्यो र जुकाको ज्यादती पनि सहनुपर्ने थिएन ।”
तर घाम लागेन ।
० ० ०
नौ बजिसकेथ्यो सूचना पाटीले सङ्केत गरेको घाँटीछिनातर्फको गोरेटो समातेर आोरालो लाग्दा । सलबलाई सकेका थिए जुकाहरू हाम्रै गन्धले । पाइला टेक्नेबित्तिकै हुरुरु आउँथे जुत्तामा टाँसिन । खुब काम आयो नूनको पोकोको । सायद त्यो हतियार नभएको भए हामी कसरी पन्छाउँथ्यौँ होला जुकालाई ! एकालाप गर्दै थिएँ म ।
तल दमदमे र सिधाने गाउँबाट उठेका कुहिराका मुस्लाहरू लम्कँदै थिए हाम्रै बाटोतर्फ । हिजो हामी कुहिरो भेट्न लम्किएका थियौँ । आज कुहिरोनै हामीलाई भेट्न लम्कँदैछ । बीच बाटोमै जम्काभेट भयो कुहिरोसित । एकछिन त कुहिरोका कागझैँ भएका थियौँ हामी । कुहिरो पञ्चासेतर्फ वेगियो; हामी घाँटीछिनातर्फ वेगिँयौँ ।
“खोइ त कता पट्टि हो पोखरा ?” माधवजीले सोधे ।
“उः त्यो डाँडा ले छेकेको छ ।” सीतारामको जवाफ । धूमिल थियो दृश्य । अग्लो पञ्चासे भञ्ज्याङले देख्न नसकेको घाम होचो पोखराले कसरी देखोस् ! अन्नपूर्णा, माछापुच्छ्रे र धौलागिरिहरू बादलभित्र हराएपछि सुन्य लाग्थ्यो संसार । घामको उज्यालो नपर्दा उदासिलो बन्दारहेछन् धर्तीका पत्रहरू । आँखामा आइरहेथ्यो, पुम्दी-भुम्दीको हरियाली खसेको सुन्दर फेवाताल र पोखरा नगरको । पञ्चासेसितै जोडिएको छ पोखराको अस्तित्व । पञ्चासेले सेती र हर्पनखोला नपठाउने हो कसरी हाँस्थ्यो होला पोखरा ? तर तलैया र सिमसारमाथिको अतिक्रमण सम्झँदा कुडिन्छ मेरो मन । फुटिगयो बादलको घैला सिधाने पुग्दा । सिधानेबाट तल्तिर झर्ने क्रममा छोटो बाटो भन्ठानेर जाँदा झण्डै पुगिएन अर्कै गाउँ । एकछिन त रनभूल्लमा परेका थियौँ हामी । खेतका आलीआली हिँडेका थियाैं माधवजी, म मेगान होली र डेभिड चाल्स र अरू तीनजना । लड्ने क्रम रोकिएको थिएन । हुन त मज्जा थियो लड्नुमा पनि । हत्तपति मिलिहाल्दैन यसरी लड्ने मेलोमेसो ।
रोकियौँ हामी दमदमे पुगेर । जङ्गलको बीचमा छ दमदमेको बस्ती । इतरिइरहेका छन् छहराहरू पाखापखेरा हल्लाउँदै । चारैदिशा छहराहरूले घन्किएको छ दमदमे गाउँको । पोखरा पल्तिर भएपनि पोखराको आधुनिकताले भेटेको छैन सिधाने र दमदमेलाई । धम्पुसकै जस्तो बान्कीका घरहरू छन् यहाँ । आफ्नै भाषा, भेष, रितिथिति र परम्परा छ यहाँ । सिधाने र दमदमेको दर्पणमा आफ्नै अनुहार देखेथेँ मैले ।
घाम नलाग्दा नरमाइलो चाहिँ हुने । मनमा लागिरहेको छ- ‘घामको चमकमा दमदमे साँच्चै कस्तो देखिन्थ्यो होला !’
त्यसैले पो भनिएको रहेछ- ‘पोले पनि घामै जाती, कुटे पनि आमै जाती ।’
निरन्तर वर्षंदै थियो बादल । पखाल्दै थियो कुद्बी र हर्पन डाँडालाई । चराहरूले पखेटा फिँजाउन पाएका थिएनन् । छत्री र घुम चल्मलाइरहेका थिए खेतका गह्राहरूमा । दमदमे र घाँटीछिनाबीच बिन्दुसरि उभिएको थियौँ हामी छब्बीस जना । हामी हतारहतार कोर्दै थियौँ एउटा सीधा रेखा घाँटीछिनासम्म । र, फेरि अर्को रेखा कोर्नु थियो पोखरासम्मको ।
२४ जुलाई २०१९
(नियात्राकार एडभेन्चर थर्डपोल ट्रेक्सका कार्यकारी निर्देशक एवं त्रिशूली वाङमय प्रतिष्ठानका उपाध्यक्ष हुन् ।)